२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सम्बन्धमा अध्ययन समितिले असार भित्र प्रतिवेदन बुझाउने

    विदेशी विमान कम्पनीसँग पनि छलफल गर्दै सरकार


    भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन गर्न नागरिक उड्यन प्राधिकरणले गत जेठ महिनामा अध्ययन समिति गठन गरेको थियो। नागरिक उड्नय प्राधिकरणका निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले अहिले काम गरिरहेका छ।

    के कस्तो अवस्थामा विदेशी विमान कम्पनीहरुले यहाँबाट उडान भर्न सक्छन्। नेपाल सरकारका विभिन्न निकायले गर्नुपर्ने तयारी के–के हुन भन्ने बारेमा समितिले अध्ययन गर्ने छ। असार भित्र सरकारलाई प्रतिवेदन बुझाउने समितिका संयोजक बाबुराम पौडेलले जानकारी दिए। ‘जेठ महिनामै हामी भैरहवा र पोखरा पनि गयौं। सबै पक्षसँग छलफल र बैठक गरेर प्रतिवेदन तयार गर्दै छौं।’ उनले भने अध्ययन ‘प्रतिवेदन तयार भएपछि असार भित्रै सरकारलाई बुझाउँछौं।’

    अध्ययन समितिले काम गरिरहँदा सरकारले विदेशी विमान कम्पनीहरुसँग पनि छलफल गरिरहेको छ। ति विमान कम्पनीहरुले केही छुट सुविधा दिएमा भैरहवा आउन खोजेको संस्कृति पर्यटन तथा नागरिक उड्नय मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले बताइन्। ‘हामीले अरु विदेशका एयरलाइन्सहरुसँग छलफल गरिरहेका छौं। ति विमान कम्पनीबाट केही सुविधा दिने हो भने हामी भैरहवा जान्छौं भन्ने कुरा आएको छ।’ उनले भनिन् ‘ति सुविधाका कुरा हाम्रो मन्त्रालयसँग मात्र सम्बन्धीत छैन। अरु मन्त्रालयसँग सम्बन्धीत हुन्छ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सम्बन्धमा विभिन्न मन्त्रालयकाबीच पनि छलफल गरेको पर्यटन मन्त्रालयकी सहसचिव घिमिरेले बताइन्। ‘एक पटक प्रधानमन्त्री र विभिन्न मन्त्रालयका सचिव सहित हामी बैठक बसिसकेका छौं।’ उनले भनिन् ‘मन्त्रालयहरुले पनि आ–आफ्नो तयारी गर्दैहुनुहुन्छ।’ अध्ययन समितिले प्रतिवेदन बुझाएपछि फेरी प्रधानमन्त्री रसम्बन्धीत मन्त्रालयबीच छलफल हुने घिमिरेको भनाइ छ।

    यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्नन मन्त्रालयले छुट र सेवा विस्तारको लागि ३ वटा मन्त्रालयलाई पत्र समेत लेखिसकेको छ। पर्यटन मन्त्रालयले हवाइ इन्धनमा छुटको लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ। म्यान पावर कम्पनी खोल्न सहजीकरण गर्न श्रम मन्त्रालयलाई पनि पत्र लेखेको इन्दु घिमिरेले बताइन्। उद्घाटन भएको दुई वर्ष भइसक्दा पनि गौतम बुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।