२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • रामपुरदेखी तानसेनसम्म, यस्तो रहयो महानायक राजेश हमालको पाल्पा यात्रा

    तानसेन -नेपाली चलचित्रका महानायक राजेश हमालले पाल्पाका विभिन्न ठाउँको अवलोकन गरेका छन्। २ दिने यात्राका क्रममा उनले रामपुर, तानसेन र आसपासका पर्यटकीय स्थलहरुको अवलोकन गरे।

    कालिगण्डकी करिडोर हुँदै पाल्पाको रामपुर आएका हमाल सुरुमा निस्दी गाउँपालिकाको काउले डाँडा पुगेका थिए। जहाँ नेपालकै ठूलो अम्रिसो बगान रहेको छ। रामपुरको बेझाड बजार, ताल तालपोखरा, १० अवतारको वालन नाच अवलोकन गरेका थिए। रामपुरबाट उनी तानसेन आए।

    राजेश हमालका विगतका सहपाठी नायक धिरेन शाक्य पनि विमानबाट भैरहवा हुँदै तानसेन आइपुगे। पाल्पा राजेश र धिरेन दुबैको जन्म थलो हो। उनीहरुले तानसेनको पाल्पा दरबार, अमरनारायण मन्दिर, भगवती मन्दिर, श्रीनगर लगायतका ठाउँ अवलोकन गरेको कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिए। ‘रानीमहल जाने पनि सेड्युल थियो । बर्षाका कारण सडक असहज भएकाले जानुभएन।’ उनले भने। तानसेनको टुडीखेलमा सोमबार विहान मर्णीङ वक पनि गरे।

    पाल्पाका विभिन्न पर्यटकीय स्थानलाई डकुमेन्ट्रीमा कैद गर्ने क्रममा आफू तानसेनमा आएको महानायक हमालले बताए। ‘यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस्, आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरुको बृद्धि होस्।’ उनले भने ‘तानसेन मेरो लागि विशेष हो। बुबा र आमा मेरो दुबै पाल्पाको हो । मिसन हस्पिटलमा मेरो जन्म भएको हो। मेरो बुबाले २२ वर्षको उमेरमा मास्टर सकिसकेपछि पद्म पब्लीक हाइस्कुलमा प्रिन्सिपल हुनुहुन्थ्यो।’

    अर्का नायक धिरेन शाक्यले पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउने अभियानमा आफूहरु जोडिएको बताए।
    यसैबीच राजेश हमाल आफ्नो जन्मथलो अर्चले पनि पुगे। अर्चलेमा उनलाई भव्य स्वागत गरिएको थियो। आफ्नो माओल भैरबस्थान पनि गए। धार्मिक स्थल भैरबस्थानको पनि अवलोकन गरे।

    यात्रा नेपालको ट्राभल सिरिज अन्तर्गत महानायक राजेश हमालले पाल्पाका गन्तव्यहरु घुमेका हुन्। नेपाल दर्शन र लाइभ मिडिया प्राइभेट लिमिटेडको आयोजनामा ट्राभल सिरिज बन्न लागेको हो। लुम्बिनी प्रदेशको पाल्पाबाट सिरिज सुरु गरेको नेपाल दर्शनका माकेटिग हेड साकार प्रधानले बताए। पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न नेपाल दर्शनले हरेक प्रदेशका मुख्य गन्तव्यको ट्राभल सिरिज बनाउन लागेको उनले जानकारी दिए।