२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • पर्यटन नीति समयानुकुल बनाइन्छ : मन्त्री पाण्डे

    काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विद्यमान पर्यटन नीतिलाई समयानुकूल बनाइने बताएका छन्। मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले मुलुकको पर्यटन क्षेत्रको विकास र बढि भन्दा बढि पर्यटक आकर्षण गर्न नीतिलाई समयानुकुल बनाउन आवश्यक भएको उल्लेख गरे। मन्त्री पाण्डेले पर्यटन नीतिको मार्गदर्शन बमोजिम आवश्यक कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिए। सन् २०२३ देखि २०३२ को अवधिलाई भ्रमण दशकका रुपमा कार्यान्वयन गर्दै बढीभन्दा बढी पर्यटक आकर्षण गर्न लागिपर्ने उनले प्रतिबद्धता गरे।

    यसैबीच पर्यटन नीति संशोधनका लागि कार्यदल पर्यटन नीतिलाई समयसापेक्ष बनाउन पर्यटन मन्त्रालयका सहसचिव हेमराज तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले तीन महिनामा प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ। पर्यटनमन्त्रीले आफ्नो पहिलो निर्णयका रुपमा पर्यटन नीति, २०६५ लाई समयसापेक्ष बनाउन अध्ययन र सुझाव दिन गठित कार्यदल गठनसम्बन्धी निर्णयमा हस्ताक्षर गरे। पर्यटन क्षेत्रको विकास सम्वद्र्धन, प्रवद्र्धन र त्यस क्षेत्रलाई सुदृढ गर्नेगरी पर्यटन नीति बनाउनेगरी अध्ययन गर्ने र तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल बनाइएको मन्त्री पाण्डेले जानकारी दिए। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि रणनीतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।

    मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले उक्त अवसरमा सङ्घीय संरचनाअनुरुप मुलुकको पर्यटनलाई समयसापेक्ष बनाउन पर्यटन ऐनलाई समयसापेक्ष परिमार्जन गर्न लागिएको जानकारी दिए। मन्त्रालयका सहसचिव हेमराज तामाङले मन्त्रालयअन्तर्गतका निकाय र गतिविधिबारे सङ्क्षिप्त जानकारी गराएका थिए।