२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • नेपालको बोधगया मानिने अनोमाघाटः जहाँ बुद्ध भिक्षु बनी ज्ञानको खोजीमा हिडे


    त्रिवेणी– नवलपरासी पश्चिममा रहेको अनोमाघाट गौतम बुद्ध पहिलोपटक भिक्षु बनेको ठाउँ हो। कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिद्धार्थ गौतमले अनोमाघाटमा आइ केश मुण्डन गरी गेरुवस्त्र धारण गरेको बुद्धग्रन्थहरूमा उल्लेख छ। यही ठाउँबाट उनी ज्ञानको खोजीमा हिडेका थिए। अनोमाघाट सुस्ता गाउँपालिका ५ मा स्थीत नारायणी नदिको तटमा पर्दछ। यसलाई ठाडीघाट भनेर पनि चिनिन्छ।

    सिद्धार्थ गौतम युवराज त्यागेर भिक्षु भइ बुद्ध बन्ने प्रक्रियाको सुरुवात भएकाले यो ठाउँलाई नेपालको बोधगयाको रुपमा लिइन्छ।

    नवलपरासी पश्चिमका युवा अभियान्ता सुकरात गौडले यो ठाउँलाई बोधगया जत्तीकै महत्व दिनुपर्ने बताउँछन्। ‘गौतम बुद्ध ३ जना मिलेर यो ठाउँमा आइपुग्नुभयो । उहाँले यहीबाट आफ्नो बोधी ज्ञानको लागि पहिलो कदम चाल्नुभयो। आफूले लगाएको राजसी पोशाक चन्नालाई दिएर यही केश मुण्डन गरि भिक्षुको बस्त्र धारण गर्नुभयो।’ उनले भने ‘बुद्धले ज्ञान प्राप्त गरेको बोध गयामा हो तर त्यसको सुरुवात यहीबाट भएको हो। त्यसैले यो अनोमाघाटलाई नेपालको बोधगया भनेर विकास गर्न सकिन्छ।’

    अनोमाघाटमा कात्र्तिक पूर्णिमामा मेला समेत लाग्ने गर्दछ। अहिले यहाँ एउटा बुद्धको मूर्ति, शिवमन्दिर, धर्मशाला, बगैँचा र कुस्ती रंगशाला रहेको छ। नारायणी तिरमा भएकाले अनोमाघाट प्राकृतिक रुपमा पनि सुन्दर छ। यहाँबाट नरायणीको फराकिलो दृष्य देख्न सकिन्छ।

    सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले अनोमाघाटको संरक्षण र पर्यटकीय विकासको लागि गाउँपलिकाले बजेट विनियोजन गरिरहेको तर प्रदेश र केन्द्रबाट ध्यान नदिइएको बताए। ‘गौतम बुद्ध केश मुण्डन गरेर भिक्षु भइ ज्ञान प्राप्तको लागि हिडेको ठाउँ हो। गाउँपालिकाले बर्षेनी १० देखी २० लाख बजेट छुट्याएर काम गरिरहेको छ।’ उनले भने ‘चालु आर्थिक वर्षमा १५ लाख रुपैया छुट्याएका छौं। प्रदेश र केन्द्रमा हामीले भनिरहेका छौ। तर बजेट आएको छैन।’ माथिल्ला सरकारले ध्यान दिने हो भने अनोमाघाट राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने गाउँपालिका अध्यक्ष उपाध्यायको भनाइ छ।