२०८१ मंसिर ९ गते, आईतवार १३:१४
  • नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतिहरु

    सोम सापकोटा

    सगरमाथा र गौतम बुद्धको जन्मस्थल नेपाल पर्यटकीय सम्भावना र अवसर भएको मुलुक हो। राष्ट्रिय निकुञ्ज घुम्दै बन्यजन्तु हेर्न, पदयात्रा गर्दै मनोरम दृष्यावलोकन गर्न, ऐतिहासिक सांस्कृतीक सम्पदा र संस्कृतीको अवलोकन गर्न विदेशी पर्यटकहरु नेपाल आउने गर्दछन्। सम्भावना भएर पनि नेपालले पर्यटन क्षेत्रमा कतिपय चुनौतिहरुको सामना गर्नुपरेको छ। ति चुनौति र समस्याहरुले पर्यटन उद्योगको विकास र दिगोपनलाई असर गरिरहेको छ।

    प्राकृतिक प्रकोप, उड्डयन असुरक्षा, राजनीतिक अस्थिरता, पुरानो पर्यटन नीति नियमहरू र कोभिड–१९ को महामारीद्वारा सिर्जित असरहरु पर्यटन क्षेत्रका कठिनाइ र चुनौतिहरु हुन्। बर्षायाममा हुने बाढि पहिरो र डुबान जस्ता घट्नाले पर्यटकलाई सास्ती हुने गरेको छ। पहिरोका कारण सडक तथा पदमार्गहरु भत्कीदा समय समयमा पर्यटकहरु अलपत्र पर्ने अवस्था आउने गरेको छ। साथै यस्ता प्राकृतिक प्रकोपले पर्यटकीय गन्तव्य तथा स्थलहरुमा पनि क्षति पुगेको छ।

    भूकम्पले पनि नेपालको पर्यटन क्षेत्रलाई निकै असर पुर्याएको छ। वि. सं. २०७२ सालको भूकम्पले हाम्रा कतिपय सांस्कृतिक सम्पदा तथा ऐतिहासिक मठ मन्दिरहरुमा क्षति पुर्यायो। प्राकृतिक प्रकोपले तत्कालका लागि असुरक्षाको अनुभुति गराउँछ। साथै यसले दीर्घकालीन प्रभावहरू पनि निम्त्याएको छ। भुकम्प लगायत प्राकृतिक प्रकोपबाट प्रभावितहरुहरुले अझै पनि पुनस्थापना र पुनः निर्माणको लागि संघर्ष गरिरहेका छन्।

    उड्यनको असुरक्षा पनि नेपालको पर्यटन क्षेत्रमा प्रमुख चिन्ता र समस्याको विषय बनेको छ। बुधबार मात्र काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने क्रममा सौर्य एयरलाईन्सको विमान दुर्घट्ना भयो। त्यसमा सवार १८ जनाको मृत्यु भयो। क्याप्टेनको घाइते अवस्थामा उद्धार भएको थियो। मर्मतको लागि पोखरा उडेको जहाज दुर्घट्नामा सौर्य एयरलाइन्सकै प्राविधिक तथा कर्मचारीहरुको ज्यान गयो। २०७९ साल माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घट्ना हुँदा ७२ जनाको मृत्यु भएको थियो। यी दुई दुर्घट्ना प्राकृतिक नभइ प्राविधिक कारणले भएको मानिन्छ।

    तर देशको चुनौतीपूर्ण भूभाग र अप्रत्याशित मौसमी अवस्थाले नेपालमा हवाई दुर्घटनाका धेरै घट्ना भएका छन्। बारम्बार हुने विमान दुर्घटनाका घट्नाले नेपालको उड्यन सुरक्षा चिन्ता थपिने गर्दछ। पर्यटकीय गन्तव्यको रूपमा रहेको नेपालमा प्रतिष्ठालाई नकारात्मक रूपमा असर गर्छ। पर्यटक तथा यात्रुहरुको विश्वास जित्न उड्यन सुरक्षामा ध्यान दिन जरुरी छ। जसका लागि उड्यन पूर्वाधारको स्तरोन्नती गर्नुपर्छ। विमान तथा विमानस्थलमा सुरक्षाका उपाय र उपकरणहरु बढाउनुपर्छ। नियामक निकायहरुले निरीक्षण र सुधारमा ध्यान दिन आवश्यक छ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले पनि नेपालको उड्डयन सुरक्षा मापदण्ड र पूर्वाधारबारे चिन्ता व्यक्त गरेको छ। आइकाओको मूल्याङ्कनहरूले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गर्न महत्वपूर्ण सुधार गर्न सुझाब दिएका छन्। पुरानो विमानस्थलका सुविधाहरू, हवाई ट्राफिक नियन्त्रण प्रणाली र अपर्याप्त सुरक्षा प्रोटोकल जस्ता मुद्दाहरूलाई तत्काल ध्यान दिन भनिएको छ। नेपालको उड्डयन क्षेत्रमा सुरक्षा र विश्वसनीयता सुधार गर्न विमानस्थलका पूर्वाधारको आधुनिकीकरण र अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना सुनिश्चित गर्नु आवश्यक छ।

    सिमित अन्तर्राष्ट्रिय उडान, कम्जोर मर्मत सम्भार, सडकको अस्तव्यस्तताले पर्यटकीय गन्तव्यहरूको पहुँचमा बाधा पुग्ने गरेको छ। यसले पर्यटन क्षेत्रको लागि यातायातको सञ्जालमा चुनौती बनेको छ। पर्यटन क्षेत्रमा सुधार गर्न र थप पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न यातायातको पूर्वाधार र बढ्दो कनेक्टिभिटी अत्यावश्यक छ।

    कोभिड–१९ को महामारीले नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थला पर्यो। अहिले पनि कोरोनाकालको प्रभाव पर्यटन क्षेत्रमा छ।
    विश्वव्यापीको आर्थिक मन्दीको असर पनि नेपालको पर्यटनले भोग्नुपर्यो। अन्तर्राष्ट्रिय यात्रामा आएको गिरावटले पर्यटक आगमनमा ह्रास आएको छ। मन्दीले नेपालको अर्थतन्त्रमा गम्भीर असर पारेको छ। नेपालको जीडीपीमा पर्यटनको ठुलो योगदान छ। पर्यटक आगमनको संख्यामा आएको गिरावटले रोजगारी गुमाउने, व्यापार व्यवसाय बन्द हुने जस्ता समस्याहरु भोग्नुपर्यो। अहिले ति समस्याबाट पर्यटन क्षेत्र माथि उठ्ने प्रयास गरिरहेको छ। महामारीको प्रभावले पर्यटन क्षेत्रको पुनर्निर्माण गर्न लचिलो र अनुकूलनीय रणनीतिहरूको आवश्यकतालाई उजागर गरेको छ।

    राजनीतिक अस्थिरता र असन्तुलित सरकारी नीतिले पनि नेपालको पर्यटन उद्योगलाई झन जटिल बनाएको छ। बारम्बार सरकार परिवर्तन र राजनीतिक अस्थिरताले पर्यटनका नीति नियमहरु पनि अस्थिर बन्छन्। जसले पूर्वाधार परियोजनाहरूमा ढिलाइ हुने गर्दछ। लगानीकर्ताका साथै पर्यटकहरूका लागि अनिश्चितता पैदा गर्न सक्छ। पर्यटनको विकास प्रवद्र्धन गर्न र विश्व बजारमा नेपाल प्रतिस्पर्धी बन्न स्थिर र सहयोगी नीति नियम बन्नु आवश्यक छ।

    कतिपय पुराना नीति नियमका कारण पनि पर्यटक क्षेत्रमा समस्या सिर्जना भएका छन्। हालको पर्यटन ऐन समय सापेक्ष रुपमा संसोधन गर्न अति आवश्यक छ। अहिलेको ऐनले पर्यटन क्षेत्रको प्रभावकारी व्यवस्थापन र आधुनिक विकासमा बाधा पु¥याउँछ। पर्यटक र लगानीकर्ताहरुलाई सम्बोधन गर्न सकेको छैन। पर्यटन सँग सम्बन्धित नियामक निकायहरुको संरचनागत सुधार गर्न र समग्र पर्यटन क्षेत्रको विकास गर्न पर्यटन ऐन संसोधन गर्न जरुरी छ।

    माथि उल्लेखित पर्यटन क्षेत्रमा प्राकृतिक प्रकोप, उड्डयन सुरक्षा मुद्दाहरू, राजनीतिक अस्थिरता, पुराना पर्यटन नीति नियमहरू र कोभिड–१९ महामारीका प्रभावहरू लगायतका चुनौतिहरुलाई ध्यान दिएर पर्यटन क्षेत्रको नयाँ रणनीति र योजना बनाउनुपर्छ।
    नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान र दिगो विकासको लागि समय सापेक्ष योजना, पूर्वाधारमा सुधार र नीति नियमहरुको परिमार्जन आवश्यक छ।

    लेखक वेल्स युकेका लागि नेपालका पर्यटन प्रवर्द्धक हुन् ।