२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा

    काठमाडौँ -मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणको क्रममा सोमबार काठमाडौँ आएकी छन्। भ्रमण टोलीमा उनीहसँगै केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटा रहेका छन्। चेरिस सहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजा सहित स्वागत गरिएको थियो। सो अवसरमा नेपाल पर्यटन बोर्डका कमल सापकोटा नेपाल सरकारका पर्यटन प्रवर्द्धक तथा एनआएएनएका पर्यटन प्रवद्र्धन समिति संयोजक सोम सापकोटा, एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनाल लगायतले स्वागत गरेका थिए।

    मिस माल्टा चेरिसले भोली प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री बद्री पाण्डेसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बुधबार चन्द्रागिरि, पाटन दरबार स्क्वायर, पशुपति नाथ, स्यम्भू लगायत सम्पदाको भ्रमण गर्ने कार्यक्रम छ। विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा मिस माल्टा चेरिसले नेपाल भ्रमणका क्रममा भएको स्वागतले आफू उत्साहित भएको बताइन्। नेपालमा रहँदा विभिन्न गन्तव्यको भ्रमणसँगै सामाजिक काममा समेत सहभागी हुने उनले जानकारी दिइन्। नेपाल बसाइको क्रममा टोलीले धेरै विद्यालयहरू भ्रमणका साथै सहयोग चन्दा प्रदान गर्नेछन्।

    चेरिसले चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) का पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा नेपाल सरकारका पर्यटन प्रवद्र्धक सोम सापकोटाले जानकारी दिए। नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थिती रहेको भन्दै उनले मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उल्लेख गरे।

    भ्रमणको क्रममा उनले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, भरतपुरकी मेयर रेणु दाहाल, रत्ननगरका मेयर प्रल्हाद सापकोटासँग टोलीको भेटघाट हुनेछ। यस्तै पर्यटन बोर्डमा पत्रकारहरूसँग स्वागत र अन्तरक्रिया पनि उनले गर्नेछिन्।
    मिस माल्टा चेरिसले साउन १९ गते मिस नेपालको ग्राण्ड फिनालेमा उपस्थित हुने छिन्। सोही साँझ एनटीबीले आयोजन ागर्ने गाला डिनरमा समेत सहभागी हुनेछिन्।

    उनीहरु भदौ ५ गतेसम्म नेपालमै बस्नेछन्। भ्रमणलाई माल्टाका लागि नेपाल पर्यटन बोर्डका पूर्व प्रतिनिधि तथा माल्टा–नेपाल मैत्री संघका उपाध्यक्ष तथा वेल्सका नेपाल पर्यटन प्रवर्द्धक सोम सापकोटा, माल्टाका पर्यटन प्रवद्र्धक प्रकाश भण्डारी, र एनआरएनए एनसीसी माल्टा अध्यक्ष रेम्स खनालले समन्वय गरेका छन्। नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन्। हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटकहरु नेपाल भित्रने गरेका छन् । उचित प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक आगमन निकै बढ्न सक्ने सरोकारवालाहरुको भनाइ छ ।

    मिस माल्टाको टोली नेपाल आउँदा वा घुम्दा माल्टाका धेरै जसो मिडियाले फलो गर्ने माल्टाका पर्यटन प्रवद्र्धक प्रकाश भण्डारीको भनाइ छ। एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले नेपालबारे डकुमेन्ट्री समेत बन्ने भएकाले स्वाभाविक रुपमा माल्टामा नेपालको पर्यटनको प्रवद्र्धन हुने उल्लेख गरे।