२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • पर्यटनको विकासको लागि स्वतस्फूर्त आउन निजी क्षेत्रलाई मन्त्री पाण्डेको आग्रह

    काठमाडौँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रलाई स्वस्फूर्त रूपमा आउन समेत आग्रह गरेका छन्। बुधबार नेपाल पर्यटन बोर्डद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सरकारी प्रयासले मात्रै पर्यटन क्षेत्रको प्रगति हुन नसक्ने भन्दै नीजि क्षेत्रको पनि भूमिका आवश्यक भएको उल्लेख गरे।

    उनले एक अर्काका कमीकमजोरी आग्रह पूर्वाग्रह नगरी पर्यटनको विकासका लागि अघि बढ्न कर्मचारीलाई समेत निर्देशन दिए। परिणाममुखी काम गरेर पर्यटनको क्षेत्र चलायमान र गतिशील बनाउन समेत पाण्डेको आग्रह छ। उनले पर्यटनका क्षेत्रमा नीतिगत, कानुनी, पद्धति वा प्रवृत्ति के कारणले समस्या उत्पन्न भएको हो त्यसको पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए।

    उनले बहुभाषिक, बहुसांस्कृति र भौगोलिक दृष्टिकोणमा विविधता भएकाले नेपालको अलग्गै पहिचान रहेको उल्लेख गरे। मन्त्री पाण्डेले नेपालमा आउने पर्यटकले विविध क्षेत्रको अध्ययन,अवलोकन गर्नका लागि आउने गरेको दाबी गरे।