२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • कर्मचारी पुनर्बहालीको माग गर्दै टाइगर प्यालेस रिसोर्टमा अनिश्चितकालिन धर्ना


    तिलोत्तमा -रुपन्देहीको तिलोत्तमामा रहेको टाइगर प्यालेस रिसोर्टमा कर्मचारीको पुनर्बहालीको माग गर्दै अनिश्चतकालिन धर्ना सुरु भएको छ। कोरोनाकालमा आफूहरुलाई निकालिएको र पुनर्वहाली हुनुपर्ने माग गर्दै उनीहरुले रिसोर्टको गेटमा बसेर अनिश्चितकालिन धर्ना सुरु गरेका हुन्। होटल व्यवस्थापनले आफूहरुसँग पटक पटक सहमति गरेको र कार्यान्यन नगरेकाले आन्दोलन गर्न बाध्य हुनुपरेको उनीहरुको भनाइ छ।

    आन्दोलनमा उत्रिएका पूर्वकर्मचारीहरुले रिसोर्टको गेटमै पत्रकार सम्मेलन गरी धर्ना सुरु भएको जानकारी गराएका थिए ।
    संघर्ष समितिका संयोजक चित्र भण्डारीले कोरोनाकालमा रिसोर्टले एकै पटक करिब ४०० कर्मचारीलाई विनाजानकारी निकालेपछि आफूहरु श्रम अदालत गएको र अदालतले आफूहरुको पक्षमा फैसला आएको सुनाएको बताए। श्रम अदालतको फैसला कार्यान्वयन नगर्दै रिसोर्ट बिक्री भएको र नयाँ व्यवस्थापनले निष्कासित कर्मचारी पुनर्बहाली गर्न आलटाल गरेको उनको आरोप छ।

    नयाँ व्यवस्थापनसँग मजदुरहरु र होटल व्यवस्थापन २०८० पुसमा सहमती भएको संयोजक भण्डारीले बताए। सहमती अनुसार पुनर्वहाली गर्न इच्छुक कर्मचारीलाई १ लाख ६५ हजार दिने र नियमित रोजगार दिने सम्झौता भएको र छोड्न चाहानेहरुको लागि २ लाख ७० हजार दिने सहमती भएको थियो। नयाँ व्यवस्थापनले हामी मान्दैनौ भनेर आलटाल गरिरहेको आन्दोलनरत कर्मचारीले बताएका छन्।

    कर्मचारी संगठनका अध्यक्ष रोशन गुरुङले रिसोर्ट र क्यासिनो सञ्चालकले अदालतको आदेशलाई चुनौती दिँदै कर्मचारीको दायित्वबाट पन्छिने प्रपञ्च गर्नु आपत्तिजनक भएको भन्दै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताए। मजदुरको आन्दोलनबारे टाइगर प्यालेस रिसोर्ट र क्यासिनो व्यवस्थापन पक्षले भने सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छैनन्।