२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • पर्रोहा बोलबम धाममा भक्तजनको चहलपहल, मन्दिर पुननिर्माणपछि दर्शनार्थीलाई सहज

    सैनामैना साउनको तेस्रो सोमबार रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका पर्रोहा परमेश्वर बोलबमधाममा चहलपहल छ। पश्चिमको पशुपतिको रुपमा चिनिने बोलबम धाममा साउन महिनामा श्रावणी मेला लागेको छ।

    पर्रोहा बोलबम धाममा विगतमा एक डेढ किलोमिटर सम्म लामो लाइन देखिन्थ्यो। त्यतीबेलाको तुलनामा यो पटक लाइन छोटो थियो। लाइनमा बसेपछि छिट्टै दर्शनको पालो पनि आउँथ्यो।दर्शनार्थीको संख्या केही घटेको हो। त्यसबाहेक पुननिर्माण भएको मन्दिरका कारण पनि लाइन लामो नभएको बोलबमधामका अध्यक्ष रामबली चौधरीले बताए। ‘पहिलाको मन्दिर साँघुरो थियो। एकपटकमा थोरैले मात्र दर्शन गर्न सक्थे। मन्दिर पुननिर्माण गरेपछि धेरै फराकिलो भएको छ। उनले भने अहिले १५ देखी २० जना भक्तजनले एकसाथ दर्शन गर्न सक्छन्। मन्दिरमा ४ वटा ढोका छ। पश्चिम र दक्षिणबाट प्रवेश गरेर उत्तर र पूर्वबाट निस्कन सक्ने व्यवस्था छ। मन्दिर ठूलो आकारमा रहेका कारण छिटो छरितो जलापर्ण भइरहेको चौधरीको भनाइ छ।

    धामले प्रत्येक वर्ष बोलबम धाम तथा जलार्पण कार्यक्रम गर्ने गर्दछ। यस वर्ष गुरुपूर्णमाको दिन कपिलबस्तुको लक्ष्मण घाटबाट पर्रोहासम्म बोमबम यात्रा तथा जलार्पण कार्यक्रमको शुभारम्भ गरिएको थियो। यही साउन १५ गतेबाट १८ गतेसम्म नवलपरासीको त्रिवेणीबाट बोलबम यात्रा गरिएको थियो। २३ गते म्याग्दीको गलेश्वरधामबाट, ३० र ३१ गते गुल्मीको रिडीबाट जलार्पण यात्रा गरिने धामले जनाएको छ। जलार्पण यात्रा गर्नेहरुले पिताम्बर बस्त्र अर्थात पहेलो कपडा लगाउने गर्दछन्। पर्रोहा बोलबम धाममा भएको शिव ज्योतिर्लिङ्ग स्वयं उत्पत्तिमान भएको मानिन्छ।

    बोलबम धामको मुल मन्दिर संघिय सरकार र सैनामैना नगरपालिकाको ७ करोडको लागतमा पुननिर्माण भएको हो । बोलबम धामको गुरुयोजना अनुसार १६ करोड जतिको काम गर्नुपर्ने हुन्छ । मुल मन्दिर सहित केही काम भए पनि गर्नुपर्ने काम अझै रहेको छ।

    सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले बोलबमधामलाई लुम्बिनी पछिको मुख्य धार्मिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताए । ‘सैनामैना आँफैमा बुद्धकालिन गाउँ हो । उत्खननको क्रममा सैनामैना क्षेत्रमा पुरातात्वीक बस्तु पनि फेला परेका छन् ।’ उनले भने ‘अब हामीले लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्छ । लुम्बिनी आउने पर्यटकलाई पर्रोहा ल्याउनुपर्छ ।’ पूर्व पश्चिम यात्रा गर्नेहरुलाई पनि बोलबम धाममा आकर्षित गर्नुपर्ने नगरप्रमुख शर्माको भनाइ छ ।