२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • ‘राज्यले वातावरण दिनुपर्छ, पर्यटन प्रवर्द्धनमा काम गर्न आतुर छौं'(अन्तर्वार्ता)

    होटल व्यवसायी महासंघ लुम्बिनीको दोस्रो अधिवेसन तथा तेस्रो साधारण सभा साउन ११ र १२ गते नेपालगञ्जमा भएको थियो। अधिवेसनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। विभिन्न जिल्लाका होटलसँग सम्बन्धीत व्यवसायीक संस्था महासंघमा आबद्ध छन्। होटल व्यवसायीहरुको समस्या, समाधानका उपाय र लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका सम्बन्धमा हामीले होटल व्यवसायी महासंघका अध्यक्ष महेन्द्र श्रेष्ठसँग कुराकानी गरेका छौं।

    नेपालगञ्जमा भएको अधिवेसनबाट यहाँ होटल व्यवसायी महासंघ लुम्बिनीको अध्यक्षमा निर्वाचित हुनुभएको छ, अब तपाईँका प्राथमिकताहरु के के हुन् ?
    हाम्रो होटल व्यवसायी महासंघ लुम्बिनी मातहत प्रदेशमा १७ वटा संस्था छन्। त्यसमा ११ हजार व्यवसायी आबद्ध हुनुहुन्छ। सम्पूर्ण व्यवसायीहरुको हकहित र अधिकारका लागि हामीले काम गर्नुपर्छ। उहाँहरुको समस्या र समाधान गर्न राज्यसँग समन्वय गर्नुपर्ने दायित्व हाम्रो हो। यसको लागि मेरो नेतत्व अघि बढ्ने छ। साथै लुम्बिनी प्रदेश भित्र रहेका पर्यटकीय स्थलहरुको प्रवद्र्धनको लागि पनि हामीले भूमिका खेल्नुपर्ने हुन्छ।

    होटल क्षेत्रमा समस्याहरु के–के देख्नुभएको छ ?
    कोभिडपछि देशमा आर्थिक मन्दी देखा पर्यो। आर्थिक मन्दीका साथसाथै व्यवसायहरु पनि धरासायी बन्दै गएको छ। पर्यटन क्षेत्र त कोभिड पछि नै धरासाइ बनिसकेको थियो। राज्यबाट पर्यटन क्षेत्रमा जुन खालको लगानी गर्नुपर्दथ्यो। जुन खालको सहुलियत पाउनुपर्ने हो, त्यो खालको सेवा सुविधा नभएका कारण व्यवसायीहरु अस्तव्यस्त भइरहेका छन्। राज्यले यस क्षेत्रलाई विशेष प्राथमिकता दिएर पर्यटन व्यवसायीहरुको लगानी सुरक्षित गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ। व्यवसायीहरुको मागको सुनुवाइ हुनुपर्छ भन्ने हाम्रो माग हो।

    पर्यटन क्षेत्रको प्रमुख माध्यम होटल व्यवसाय पनि हो। बुद्ध जन्मस्थल लुम्बिनी यही प्रदेशमा छ। त्यस्तै अन्य धार्मिक, ऐतिहासिक प्राकृतिक गन्तव्यहरु छन्। प्रदेशको पर्यटन प्रवद्र्धनको लागि यहाँको भूमिका के हुन्छ ?
    लुम्बिनी प्रदेश धार्मिक र सांस्कृतीक हिसाबले धनि प्रदेश हो। गौतम बुद्धको जन्मस्थल लुम्बिनी यही प्रदेशमा पर्दछ। हिन्दु र बौद्धको संगम स्थल लुम्बिनी प्रदेश हो भनेर हामीले भनिरहन पर्दैन। हिन्दुहरुको पवित्र स्थल स्वर्गद्वारी पनि लुम्बिनी प्रदेशमा छ।
    आदिमानव रामापिथेकसको दाँत भेटिएको स्थान सिद्धबाबा क्षेत्रमा छ। अंग्रेजलाई पराजित गरेका ठाउँ जितगढी किल्ला पनि हामीसँग छ। धार्मिक र ऐतिहासिक स्थलहरु भइरहँदा यसको प्रचार प्रसार उचित तरिकाले भएको छैन। हामी आँफूलाई पर्यटन व्यवसायीको रुपमा परिभाषित गर्दै गर्दा यी स्थानहरुको प्रचार प्रसारको लागि हामीले काम गर्नुपर्छ भन्ने मान्यता राख्छौं। त्यसमा राज्यले पनि हामीलाई काम गर्ने वातावरण दिनुपर्छ। पर्यटन प्रवद्र्धनको क्षेत्रमा हामी काम गर्न निकै आतुर छौं।

    तपाईँ विगतमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष हुनुभएको थियो। अहिले प्रदेश अध्यक्ष हुनुभएको छ। जिल्ला अध्यक्ष र प्रदेश अध्यक्ष हुँदा भूमिकामा अन्तर के कस्तो अन्तर छ ?
    जिल्ला क्षेत्रको अध्यक्ष भन्ने वित्तीकै केही सिमीत दायरा हुन्छ। अहिले लुम्बिनी प्रदेश भित्रका १२ वटै जिल्लाका १९ वटा संस्थाको नेतृत्व गरिरहेको छु। त्यसले गर्दा मेरो जिम्मेवारीको दायरा फराकिलो हुने नै भयो। एउटा सानो क्षेत्रमा काम गर्नु र ठूलो क्षेत्रमा काम गर्नु ठूलै अन्तर हो। व्यवसायीका समस्या र मुद्दाहरु जिल्लामा समाधान हुन सकेनन् भने प्रदेशको महासंघमा आउँछन्। प्रदेशमा हामीले समाधानको पहल गछौं। समाधानको लागि कतिपय मुद्दा केन्द्रसम्म पुर्याउन पर्छ। हामीले जिल्ला र केन्द्रको पुलको भूमिका पनि निर्वाह गर्नुपर्छ। खासगरि व्यवसायीहरुका माग सम्बोधन गर्न र उनीहरुलाई सरकारसँग जोड्न होटल व्यवसायी महासंघ खडा भएको हो। केन्द्र, प्रदेश, जिल्ला र स्थानियस्तरसम्म हाम्रो संरचना छ।
    हामी पर्यटनसँग सम्बन्धीत व्यवसायी पनि हौं। लुम्बिनी प्रदेश भित्र रहेका सम्पूर्ण पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न, पर्यटन क्षेत्रमा सुधार ल्याउन पनि हाम्रो भूमिका रहन्छ। पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गर्न महासंघ लुम्बिनी ठूलो प्लेटफम हो।

    पर्यटन क्षेत्रमा देखीएका समस्याहरु समाधान गर्न, पर्यटन क्षेत्रलाई अझ सुधार गर्न राज्यको भूमिका के हुन्छ र यहाँहरुको राज्यसँग सहकार्य कस्तो हुन्छ ?
    विशेष हाम्रो हिन्दु बहुसंख्यक भएको देश हो र बौद्धहरुको पनि आस्थाको केन्द्र हो। गौतम बुद्धको जन्मस्थल यही रहेकाले पनि लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धन गर्न हाम्रो ठूलो भूमिका हुन्छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक लगायत पर्यटनका धेरै विधाहरु हुन्छन्। ति सबै विधाका पर्यटनलाई प्रवद्र्धन गर्न अब नीजि क्षेत्रबाट पनि हाम्रो संस्थाले पहल गर्नेछ। साथै राज्यसँग सहयोग र सहकार्यले पर्यटनको क्षेत्रमा काम गर्नेछौं। हाम्रो प्रदेशमा लुकेर, छिपेर रहेका, ओझेलमा परेका पर्यटकीय स्थलहरुको उजागर गर्नु छ। ति ठाउँमा पर्यटकीय वातावरण तयार गरि पर्यटक आवागमनलाई बढाउने हाम्रो मुख्य भूमिका हुनेछ।