२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • प्राधिकरणको नियामक र सेवा प्रदायक निकाय अलग बनाउन पूर्वपर्यटनमन्त्रीहरुको सुझाव

    पर्यटन मन्त्री पाण्डेद्वारा पूर्वमन्त्रीहरुसँग छलफल


    काठमाडौं -संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन्। छलफलका क्रममा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनिहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिए। शुक्रबार मन्त्रालयमा भएको वैठकमा समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका थिए।

    मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव मागेका थिए। सोही क्रममा पूर्व मन्त्रीहरूले् नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए। उनीहरुले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिएका थिए। त्यसै गरी उहाँहरूले दुर्घटनापछि ज्यान गुमाईसकेका पाईलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारेका थिए।

    पूर्व पर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरूस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिएका थिए। उनीहरूले मन्त्रालयको संस्थागत विकासका लागि एक भएर सहयोग पुर्याउने बताएका छन्।नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव आएको थियो।

    उनीहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिए। नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा वेथिथि रहेकाले सचेत भएर नडगमगाई काम गर्न समेत उहाँहरूको सुझाव रहेको थियो।पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिनु भएको छ।

    त्यसै गरि उनीहरूले लुम्बिनी विकास कोष,पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्ड लगायतका क्षेत्रमा भएका वेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिएका छन्। साथै विमान स्थल सुुधारका लागि आयल निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नु पर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिएका छन्।