२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • सरकारले कार्ययोजना ल्याएपछि विदेशी वायुसेवा भैरहवा आउन उत्साहित : पर्यटनमन्त्री पाण्डे

    भैरहवा-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले सरकारले कार्ययोजना ल्याएपछि भैरहवा र पोखराबाट उडान भर्न अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरु उत्साहित भएको बताएका छन्। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज अवलोकन र निरिक्षणपछि मन्त्री पाण्डेले दुबै विमानस्थल सुचारु र सञ्चालन होस भन्ने उदेश्यले कार्ययोजना ल्याएको उल्लेख गरे। ‘भैरहवा र पोखराबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडानको लागि उहाँहरुलाई केही सहुलियतको प्रबन्ध सहितको कार्ययोजना पारित भइ मन्त्रीपरिषदले निर्णय गरिसकेको छ।’ उनले भने ‘कार्ययोजना आएपछि एयरलाइन्सहरु पनि उत्साहित हुनुहुन्छ।’
    कार्ययोजनामा उल्लेख भएका विभिन्न कार्यालय र सेवाहरु स्थापित हुने वित्तीकै दुबै विमानस्थल सञ्चालन हुन्छ भन्नेमा आफू विश्वस्थ रहेको पाण्डेले सुनाए।

    पर्यटन मन्त्री पाण्डेले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडानको सम्बन्धमा विदेशी बायुसेवा कम्पनीहरुसँग हालै छलफल समेत गरेका थिए। छलफलका क्रममा बायुसेवा कम्पनीहरुले भैरहवा र पोखराबाट आफ्ना जाहाज उडाउन तत्परता देखाएको उनले बताए । ‘कतिपय उहाँहरुका कन्फ्युजन रहिछ त्यो कन्फ्युजनलाई पनि हामीले प्रष्ट पारेका छौं।’ उनले भने ‘सबै कुरा स्पष्ट गरेपछि आफ्ना एयरलाइन्सलाई भैरहवा ल्याउन तत्परता देखाउनुभएको छ । हामीलाई विश्वास दिलाउनुभएको छ।’

    सरकारले ल्याएको कार्ययोजनामा भैरहवा र पोखरामा श्रम कार्यालय स्थापना गर्ने, अध्यागमन, भिसा सेन्टर स्थापित गर्ने, इन्धनको शुल्क कम गर्ने, टिकटमा लाग्ने भ्याटमा सहुलियत दिने, प्राधिकरणले लिने शुल्कमा २ वर्षको लागि सहुलियत दिने लगायत रहेको छ। केही समय सहुलियत सहितको उडान भएपछि भैरहवाको विमानस्थललाई पर्यटक, विद्यार्थी, बैदेशिक रोजगारमा जानेहरुले सहजसँग उपयोग पाण्डेले बताए।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान गर्न सकेमा बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय महत्व अझै बढ्ने र अरु विकासको बाटो पनि खुल्ने पाण्डेको भनाइ छ।