२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • लुम्बिनी विकास कोषको परिषद बैठक, ७६ करोड ९८ लाखको बजेट प्रस्तुत

    लुम्बिनी-लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि ७६ करोड ९८ लाखको अनुमाति बजेट प्रस्तुत गरिएको छ। शनिवार बुद्धजन्मस्थल लुम्बिनीमा भएको कोषको परिषद बैठकमा नीति कार्यक्रम र बजेट प्रस्तुत भएको हो।

    कोषका अध्यक्ष तथा संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा परिषद बैठक बसेको हो। बैठकमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक तर्फ ३२ करोड ९८ लाख र गुरुयोजना अन्तर्गत नेपाल सरकारबाट प्राप्त ४४ करोड गरि कुल ७६ करोड ९८ लाखको अनुमानित बजेट प्रस्तुत गरेका थिए।त्यस्तै चालु आर्थिक वर्षमा कोषले ३७ करोड ११ लाख आन्तरिक आय गर्ने अनुमान गरिएको छ।

    यस्तै कोष सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरेका छन्। परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि ब्यापक छलफल गरी लुम्बिनीको प्रवद्र्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ।

    कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए। बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताए। उनले आगामि दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने उल्लेख गरे।

    परिषद बैठकमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरुको उपस्थिती थियो।