२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • टाइगर प्यालेसमा नयाँ व्यवस्थापनको एक वर्ष पुरा, ३ उदेश्य सार्वजनिक

    भैरहवा रुपन्देहीको पाँच तारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको १ वर्ष पुगेको छ। एक वर्ष पुगेको अवसरमा तिलोत्तमा १५ मा रहेको रिसोर्टले तीन वटा उदेश्यहरु सार्वजनिक गरेको छ। आगामी दिनमा आफ्ना सेवालाई नयाँ दिशा प्रदान गरेर अन्तर्राष्ट्रियस्तरको ख्यातीप्राप्त रिर्सोट बनाउन यस्ता उद्देश्य सार्वजनिक गरिएको टाइगर प्यालेसले जनाएको छ।

    व्यवस्थापन, कर्मचारी र समुदायको सहकार्यमा आगामी वर्ष उपलब्धीपूर्ण बनाउने रिसोर्टले योजना बनाएको छ। त्यसका लागि कर्मचारीलाई उत्साहित तुल्याएर समुदायसँग सहकार्य गरिने व्यवस्थापनले जनाएको छ। नयाँ व्यवस्थापनले सञ्चालनमा ल्याएको एक वर्ष पुगेको अवसरमा सोमबार ‘सेलिब्रेटिङ आवर टाइगर’ शिर्षकमा कार्यक्रम आयोजना गरिएको थियो।

    रिर्सोटका प्रमुख कार्यकारी अधिकृत दीपक लेखकले आन्तरिक वृत्ति विकास अन्तर्गत रिर्सोटले कर्मचारीको क्षमता वृद्धिमा जोड दिने जानकारी दिए। गत वर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोमबार विभिन्न विधा अन्तर्गत पुरस्कृत गरिएको भन्दै उनले कर्मचारीको व्यक्तिगत, व्यवसायिक, मानसिक र समग्र वृत्ति विकासका लागि वर्षभरी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

    रिर्सोटमा अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सेवा प्रदान गर्न कर्मचारीलाई

    नियमित तालिम प्रदान गरिने उनले बताए। रिर्सोटले सोमबार परिसरमा १ सय विभिन्न जातका विरुवा रोपेको थियो। सीइओ लेखकले रिर्सोटमा कार्बन उत्सर्जन हुने वस्तुको प्रयोग शून्य बनाउने र हरियाली बढाएर वातावरण संरक्षणमा टेवा पुर्याउने बताए। ‘आगामी केही वर्षभित्रै रिर्सोटले कार्बन उत्र्सजन हुने वस्तु शुन्य बनाउँदै लैजानेछौं,’ उनले भने, ‘प्रत्येक वर्ष एक सय विरुवा रोप्नेछौं भने होटलमा विद्युतीय गाडीको मात्रै प्रयोग गरिनेछ ।’

    गैरआवासीय नेपालीको लगानीमा लामो समय बन्द रहेको रिर्सोट एक वर्ष अघि सञ्चालनमा आएको हो। यस अवसरमा रिर्सोटले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायसँग सहकार्यलाई जोड दिइने जनाएको छ।