२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • अगष्ट महिना श्रीलंकन पर्यटकको सिजन, कोभिडअघि भन्दा दुई तिहाइ कम

    लुम्बिनी- बर्षाका कारण अगष्ट महिना समग्र पर्यटनको लागि अफ सिजन मानिन्छ। तर यो महिना लुम्बिनीमा श्रीलंकन पर्यटकहरुको चहलपहल हुने समय हो। सन २०२४ का अन्य महिनाको तुलनामा अगष्ट महिनामा श्रीलंकाका पर्यटकको केही चहलपहल बढेको छ। तर कोभिड अघिको तुलनामा झण्डै २ तिहाइले कम पर्यटक आएका छन्।

    गत अगष्टमा ४ हजार १८१ पर्यटक श्रीलंकन बुद्धजन्मस्थल लुम्बिनी आएका छन्। यो महिना भारत बाहेक तेस्रो मुलुकबाट कुल ५ हजार ७६९ पर्यटक आएका थिए । जस मध्ये सबै भन्दा तिन चौथाइ जति श्रीलंकाबाटै आएका हुन्। गत वर्षको तुलनामा यो अगष्टमा श्रीलंकनहरु १७ सय जतिले बढेका छन्। २०२३ को अगष्टमा २ हजार ४५४ श्रीलंकनहरु लुम्बिनी आएका थिए।

    तर कोभिड अघिको तुलनामा श्रीलंकाबाट निकै कम पर्यटक लुम्बिनी आएका छन्। सन २०१९ को अगष्टमा १२ हजार ५१६ श्रीलंकन आएका थिए। २०१८ को सोही महिनामा १६ हजार ८९२ जनाले लुम्बिनी भ्रमण गरेका थिए। २०१७ मा १० हजार ९७३ जना, २०१६ मा १५ हजार ६३३ जना, २०१५ मा १२ हजार ६९६ जना र २०१४ मा १० हजार ८७३ श्रीलंकन पर्यटक आएको लुम्बिनी विकास कोषको तथ्यांकमा उल्लेख छ। श्रीलंकामा ९० प्रतिसत बौद्ध धर्मलम्बीहरु छन् । उनीहरु तिर्थ स्थल मानेर लुम्बिनी आउने गरेका छन्।

    बौद्ध भिक्षुहरु यतीबेला वर्षाबासमा बसेका छन्। बर्षावासमा बसेकाहरु भिक्षुहरुलाई कठिन चिवर दान दिने गरिन्छ । भिक्षुहरुलाई दान दिनका लागि श्रीलंकाका बौद्धधर्मलम्बीहरु यहाँ आउने गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राइले जानकारी दिए। ‘अहिले बर्षाबास चलिरहेको छ। बर्षाबास बसेकालाई कठिन चिवर दान दिन र भिक्षुहरुसँग बस्न उनीहरु आएका हुन्।’ उनले भने ‘त्यसबाहेक वर्षाको समयमा श्रीलंकनहरु बौद्ध तिर्थस्थल घुम्ने कारणले पनि अगष्टमा लुम्बिनीमा चहलपहल बढ्ने गर्दछ।’

    श्रीलंकन पर्यटकहरु बढेपनि आँफूहरुलाई फाइदा नभएको लुम्बिनीका होटल व्यवसायीहरुको गुनासो छ। होटल सुरम्भाका सञ्चालक खिम श्रेष्ठले श्रीलंकन प्राय विहारमा बस्ने गरेको सुनाए। ‘श्रीलंकन पर्यटकहरु कोही लुम्बिनी भित्रको विहारमा बसेका छन्। कतिपय उही दिन फर्किने गर्दछन्।’ उनले भने ‘बर्षा लागेपछि होटलहरुमा व्यापार नै छैन सुनसान छ।’ धेरै जसो श्रीलंकाली पर्यटक भारत हुँदै आउने गर्दछन्। भारतीयहरुकै माध्यमबाट उनीहरु लुम्बिनी आउने गरेको र धेरै जसो उसैदिन फर्किने गरेको लुम्बिनी होटल संघका सल्लाहकार समेत रहेका श्रेष्ठको भनाइ छ।

    लुम्बिनी होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले विगतका अगष्ट महिनामा श्रीलंकन पर्यटकहरुको निकै चहलपहल हुने सुनाए। ‘कोभिड अघि धेरै राम्रो थियो। यो बेला श्रीलंकन पर्यटकहरुले नै व्यवसाय बढाउँथे।’ उनले भने ‘अहिले दुई चार वटा होटलमा पनि छैनन् होला।’ गत वर्ष श्रीलंकाले आर्थिक संकट भोगेको थियो। त्यसको प्रभावका कारण पनि लुम्बिनीमा श्रीलंकन पर्यटकहरु बढ्न सकेका छैनन्।