२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रीपरिषदमा : मन्त्री पाण्डे


    काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रीपरिषदमा पेश भइसकेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले हवाई उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको जानकारी दिए।

    साथै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भईरहेको बताए। यस्तै हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव पनि मन्त्रीपरिषदमा पुगेको पाण्डेको भनाइ छ।
    उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समिति बनाउने तयारी भएको उनले जानकारी दिए। अहिले प्रस्तावित छानविबन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई रिफ्रेन्सका रूपमा लिएर अघि बढ्ने मन्त्री पाण्डेले बताए। उनले अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।

    मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भईसकेको बताए। मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको बताउनु भएको छ। विट सम्बद्व पत्रकारहरूसँग आवश्यक सूचना प्रदान गर्ने कुरामा कुनै कमजोरी नरहने समेत पर्यटन मन्त्री पाण्डेले स्पष्ट पारे।