२०८१ आश्विन २१ गते, सोमबार ०९:१६
  • जजिराले कार्तिक १२ गतेबाट फेरी कुवेत-भैरहवा उडान थाल्ने


    भैरहवा-कुवेतको जजिरा एयरवेज फेरी भैरहवा आउने भएको छ। आउँदो कात्र्तिक १२ गते अर्थात अक्टोवर २८ बाट जजिराले कुवेत भैरहवा कुवेत उडान गर्न लागेको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि जजिराले सोमबार नागरिक उड्यन प्राधिकरणसँग अनुमती मागेको हो। प्राधिकरणले आवश्यक प्रक्रिया पुरा गरेर अनुमती दिनेछ।

    हप्तामा ३ दिन जजिराको जहाज विहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने नागरिक उड्यन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बुद्ध परिपथलाई बताए। जजिराले सुरुमा राती २ बजे आएर ३ बजे फर्किने गरि उडान गर्न खोजेको थियो। तर रातीको उडानका लागि आफूहरुले नमानेको भुलको भनाइ छ। ‘रातीको एक्ट्रा टाइम भयो त्यसमा हामीले दिन मिल्दैन भन्यौ। रातीमा उडान गर्दा प्राधिकरणको थप ५० देखी ६० लाख थप खर्च हुन्छ। भैरहवाको नर्मल अपरेसन आवर भनेको विहान ६ बजेबाट १२ बजेसम्म हो।’ उनले भने ‘हामीले त्यही विचमा आउन भन्यौं। त्यही अनुसार विहान ६:२५ मा आएर ७: १० मा उड्ने गरि उसले अनुमती माग गरेको हो।’

    २०७९ जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। त्यसलाई निरन्तरता दिएन। पछिल्लो पटक २०८० बैशाख यता भैरहवामा उसले उडान गरेको थिएन। सरकारले हालै भैरहवामा उडान गर्ने वायुसेवा कम्पनीलाई जहाजको ल्याण्डिङ, पार्किङ, नेभिगेसनमा पूर्ण छुट दिने निर्णय गरेको छ। त्यस्तै इन्धन र टिकर करमा पनि सहुलियत दिने बताएको थियो। सहुलियतको निर्णय भएपछि जजिरा पुन भैरहवा आउन खोजेको हो।