२०८१ आश्विन २१ गते, सोमबार ०९:०९
  • झरीको प्रवाह नगरी लुम्बिनी घुमे श्रीलंकाका पूर्व राष्ट्रपती गोटावाय

    लुम्बिनी – श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्ष लुम्बिनी आएका छन्। शुक्रबार अपरान्ह लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षे झरीको प्रवाह नगरी मायादेवीको श्रद्धाभत्तीका साथ दर्शन गरेका छन्। निरन्तरको बर्षाले हिडडुल गर्न समेत असहज भएको बेला पूर्वराष्ट्रपती राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाईला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धी भएको बताए।

    उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ती, पुष्पकरणी पोखरी, अशोक स्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरे। परिवार सहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए।
    कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी र मायादेवी मन्दिर र लुम्बिनीको महत्वबारे विफ्रिङ गरेका थिए। यस्तै बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले पुरातात्विक महत्व र मायादेवी मन्दिर परिसरका संरचनाबारे जानकारी दिएका थिए। राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदुत सुदर्शना पाथिराना समेत सहभागी थिए।

    त्यसअघि पूर्व राष्ट्रपतीलाई स्वागत गर्दै कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले श्रीलंकासँग नेपालको सम्बन्ध निकै पूरानो रहेको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीले त्यो सम्बन्ध अझ प्रगाढ बनाएको उल्लेख गरे।

    उनले लुम्बिनी क्षेत्रमा शाक्यमुनी बुद्धसँगै कक्रुछन्द र कनकमणि गरी तीन वटा बुद्धको जन्म भएकाले निकै महत्वपूर्ण स्थल रहेको बताए। लामाले लुम्बिनीसँग श्रीलकाको सम्बन्ध पनि निकै पूरानो रहेकाले यहाँको विकासमा सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरे। उपाध्यक्ष लामाले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा नियमित उडानका लागि समेत अनुरोध गरे।

    पूर्वराष्ट्रपती राजापाक्षेत्रलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बरिष्ठ निर्देशक ज्ञानिन राई लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए। उक्त अवसरमा कोषका सदस्य सचिव शाक्यले लुम्बिनीमा पूर्वराष्ट्रपतीको भ्रमणले आफूहरुलाई उत्साही बनाएको बताए। उनले बुद्धजन्मस्थल लुम्बिनीमा श्रीलंकाले शुरुवाती चरणमै विहार निर्माण गरेकोमा धन्यवाद दिदै यो सहकार्य रहिरहने बताए।त्यस्तै बरिष्ठ निर्देशक ज्ञानिन राईले श्रीलंकन मन्दिरको पुर्ननिर्माणका लागि अनुरोध गरे। श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतीले महत्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए।