२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • दक्षिण कोरियाका २ सय भिक्षु हजार किमि पैदलयात्रा गरेर लुम्बिनीमा

    लुम्बिनी-बुद्धस्थलहरुको पैदलयात्रामा निस्केका २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन । दक्षिण कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्रीको समूहलाई लुम्बिनी विकास कोषले मंगलबार स्वागत गरेको छ ।
    कोरियाली बौद्ध तीर्थयात्रीहरुको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए । पुजा तथा प्रार्थनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिती रहेको थियो ।

    प्राथना र पूजा कार्यक्रममा रुपन्देही ५ का सांसद बासुदेव घिमिरेले यो पैदल यात्राले नेपाल र दक्षिण कोरियाविचको सम्बन्ध थप प्रगाढ बनेको बताए । उनले नेपाल र दक्षिण कोरियाविच धार्मिक रुपमा मात्रै नभई रोजगारीका हिसाबले पनि जोडिएको उल्लेख गरे।

    नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीहरुलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउदा खुशी लागेको बताए । कोषका उपाध्यक्ष भिक्षु मैत्तयले अग्रज भिक्षु सहितको तीर्थयात्रीहरुको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बनाए ।

    दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले २ सय कोरियाली बौद्ध भिक्षु–भिक्षुणी सहित बौद्ध तीर्थयात्रीहरुलाई पैदलयात्रा गराई लुम्बिनी ल्याएको हो । भारत स्थित बोधगया, शारनाथ, कुशिनगर हुँदै पैदलयात्रीहरु लुम्बिनी आइपुगेका हुन ।

    सो अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिती थियो । फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो । लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरुबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरुको ठूलो–ठूलो समूह बुद्धजन्मस्थल लुम्बिनी आउनेक्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटनक्षेत्रलाई उर्जा थपेको कोषका बरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।