२०८१ मंसिर ७ गते, शुक्रबार १०:४२
  • जजिराले खुलायो कुवेत-भैरहवाको टिकट, काठमाडौं भन्दा कति सस्तो ?

    भैरहवा- कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नको लागि टिकट बुकिङ खुलाएको छ। नोभेम्बर ९ अर्थात कात्तिक २४ गतेबाट भैरहवामा उडान सुरु गर्ने गरि जजिराले केही दिन अघि टिकट खुल्ला गरेको हो।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै साढे २ वर्ष अघि जजिराले भैरहवाबाट उडान थालेको थियो। व्यवसायीक कारणदेखाउँदै उसले विचमा उडान रोकेको थियो। सरकारले विभिन्न सहुलियत उपलब्ध गराएपछि जजिराले फेरी भैरहवाबाट उडान सुरु गर्न लागेको हो।

    जजिरा एयरवेज मार्फत उडान गर्ने यात्रुले काठमाडौंमा भन्दा भैरहवामा सस्तोमा उडान गर्ने सक्नेछन्। जजिराले आफ्नो वेवसाइटमा लुम्बिनीको फोटो सहित भैरहवा उडानको लागि टिकट खुलेको प्रचार गरेको छ। सो प्रचारात्मक फोटोमा कुवेत–भैरहवाको एकतर्फी भाडादर ३३ कुवेत दिराम रहेको उल्लेख छ। यो १४ हजार ४८३ नेपाली रुपैया हुन्छ। सोही मितिमा कुवेतबाट काठमाडौं आउन ५० दिराम टिकट दर तोकिएको छ। यो नेपाली रुपैया २१ हजार ९५० हुन आउँछ। जस अनुसार जजिराको जहाजमा काठमाडौँ आउन भन्दा भैरहवा अवतरण गर्न साढे ७ हजार सस्तो पर्ने देखिन्छ।

    नेपालबाट कुवेतको जाने टिकट दर वेवसाइटमा अमेरिकी डलरमा उल्लेख छ। कात्र्तिक २४ गते जजिराको जहाज मार्फत भैरहवाबाट कुवेत जान टिकट दर ३९६ अमेरिकी डलर तोकिएको छ। यो ५३ हजार नेपाली रुपैया हुन आउँछ। सोही मितिमा काठमाडौंबाट कुवेत जान ४१९ देखी ४५० अमेरिकी डलर टिकट तोकिएको छ। यो ५६ हजारदेखी ६० हजार नेपाली रुपैया हो। जस अनुसार भैरहवाबाट कुवेत कुवेत उडान गर्न ३ हजादेखि १० हजार रुपैयासम्म कम पर्ने देखिन्छ।

    जहाजको टिकट सिजन र यात्रुको चाप अनुसार ह्वात्तै बढ्ने र घट्ने गर्दछ। तर जहाज कम्पनीले सहुलियत पाएका कारण काठमाडौं भन्दा भैरहवाबाट उडान गर्दा यात्रुहरुले पनि केही सस्तोमा उडान गर्न पाउँछन्। भैरहवाबाट उडान गर्ने जहाजलाई ग्राउण्ड ह्याण्डलिङ, ल्याण्डीङ, पार्किङ निशुल्क छ। त्यस्तै टिकट कर र इन्धनमा समेत सहुलियत पाएका छन्। पर्यटन व्यवसायी तथा सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष सञ्जय बजिमयले भैरहवाबाट उडान गर्ने यात्रुको लागि टिकट दर अझै सस्तो हुनुपर्ने बताए। ‘कुवेतको सिधा उडानमा त सहुलियत देखिन्छ। कतार, दोहा लगायतका ठाउँबाट कुवेत हुँदै आउने जानेहरुको लागि पनि टिकट दर कम हुनुपर्छ।’ उनले भने ‘जहाज कम्पनीहरुले भाडा घटाउलान भन्ने आशा छ।’

    जजिरासँगै फ्लाइ दुवई र एयर थाइ एशियाले पनि भैरहवाबाट उडानको अनुमति लिइसकेका छन्। दुबै कम्पनीको प्राविधिक टोली उडानको तयारी स्वरुप भैरहवा आएर स्थलगत अनुगमन गरेको गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। ‘थप दुई एयरलाईन्सले अनुमती पाइसकेका छन्। स्थलगत अवलोकन पछि छिट्टै भैरहवाबाट उडान हुन्छ भन्ने विश्वास छ।’ उनले भने। उद्घाटनको साढे २ वर्षसम्म पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुन नसक्दा यहाँका स्थानिय र व्यवसायी निराश थिए। ३ वटा विमान कम्पनीले भैरहवाबाट उडानको लागि अनुमती लिएपछि केही आशा पलाएको छ।