कोभिड अघि भन्दा झण्डै तीन चौथाइ कम
लुम्बिनी दसैं विदामा बुद्ध जन्मस्थल लुम्बिनीमा केही चहलपहल बढेको छ। तर विगतका दसैंमा जस्तो भिडभाड देखिदैन। यो वर्षको दसैं विदामा ११ हजार ३७६ आन्तरिक पर्यटक लुम्बिनी आएका छन्। यो घटस्थापनादेखी कोजाग्रत पूर्णिमासम्मको तथ्यांक हो।
२०८० को दसैंमा यस्तै बेलामा १७ हजार ५३५ जना नेपाल भित्रबाटै घुम्न आएका थिए। यसमा रुपन्देही, नवलपरासी र पिलबस्तुको संख्या थपिएको छैन। अघिल्लो वर्षको तुलनामा दसैंमा लुम्बिनी घुम्न आउने ६ हजार बढिले घटेको देखिएको छ।
कोभिड अघिको भन्दा अहिलेको आन्तरिक पर्यटक आगमन झण्डै ३ चौथाइ कम हो। २०७६ सालको दसैंका अवधिमा ४२ हजार ५८६ जना नेपाल भित्रैबाट घुम्न आएका थिए।
विगतको दसैं विदामा लुम्बिनीमा आन्तरिक पर्यटकहरुको निकै चहलपहल हुने गर्दथ्यो। होटलहरु भरिभराउ हुन्थे। त्यसबेला एउटा होटलमा पाहुना भरिएर अर्को होटलमा भन्नुपर्ने अवस्था समेत आएको होटल संघ लुम्बिनीका उपाध्यक्ष लिलामणी शर्माले बताए। ‘दसैंको बेलामा लुम्बिनीमा भिड उम्लिन्थ्यो। पाहुना भरिएर अर्को होटललाई दिनुपर्दथ्यो। अर्को होटलले आफ्नोमा ठाउँ नभएर हाम्रोमा पठाउँथे।’ उनले सम्झे ‘तर अहिले त्यस्तो देख्न पाएका छैनौं। अघिल्लो वर्षको दसैं भन्दा पनि अहिले पर्यटक घटेका छन्।’
लुम्बिनी विकास कोषका सुचना सहायक दिलिप राइले अरु सामान्य दिनको तुलनामा दसैंमा केही चहलपहल बढेको बताए। ‘दसैं विदामा केही चहलपहल बढेको छ। विगतका दसैंको अवस्था जस्तो छैन।’ उनले भने ।
अहिले बुटवल– नारायणगढ सडक विस्तारका कारण अस्तव्यस्त छ। निर्माणाधिन ११४ किलो मिटर सडक यात्रा गर्न ५ घण्टा जति लाग्छ। कष्टकर यात्राका कारण केही महिना यता लुम्बिनीमा आन्तरिक पर्यटकको संख्या घटिरहेको छ। यो वर्ष दशैंकै मुखमा भिषण वर्षा समेत भयो। बर्षाको कारण ठाउँ ठाउँमा बाढि, पहिरो डुवानका घट्ना समेत भए। राजमार्गहरुमा समेत क्षति पुग्यो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा बेला बेलामा सडक जाम हुन्थ्यो।
बाढी पहिरोको कारण बाटो घाटो विग्रदा घुम्ने संख्यामा पनि कमि आएको लुम्बिनी होटल संघका उपाध्यक्ष शर्मा बताउँछन्। ‘पूर्वतिरबाट लुम्बिनी आउने पर्यटक आगमन सुन्य जस्तै छ। नजिकबाट आफ्नै साधन भएका फाट्ट फूट्ट आउनुभएको छ।’ उनले भने ‘त्यही हो सामान्य समय भन्दा १० देखि १५ प्रतिसत मात्र पर्यटक बढेको देखिन्छ।’ कोभिड पछि पर्यटन आगमनमा सुधार हुँदै गएपनि लुम्बिनीलाई भने सडक विस्तारमा भएको ढिलाइले असर पारिरहेको छ।