२०८१ मंसिर ९ गते, आईतवार १४:०२
  • चार पालिका मिलेर भएपनि बुद्धस्थल घुम्न पर्यटकको लागि बस चलाउँछौं (अन्तर्वार्ता)

    रामग्राम विकास कोष गठन हुँदैमा सरकार र लुम्बिनी विकास कोष तर्सिनुपर्दैन

    नवलपरासी पश्चिममा रहेको रामग्राम स्तुपा गौतम बुद्धको अस्तीधातु रहेको स्थान हो। तर स्तुपाको जति प्रचारप्रसार र प्रवद्र्धन हुनुपर्ने हो हुन सकेको छैन। लुम्बिनीबाट रामग्राम स्तुपा पुग्न सहज सार्वजनिक यातायातको व्यवस्था पनि छैन। त्यसैले लुम्बिनी आएका निकै कम पर्यटक रामग्राम स्तुपा जाने गरेका छन्। लुम्बिनीबाट रामग्रामसम्मको सिधा सार्वजनिक यातायात, पछिल्लो समय गठन भएको रामग्राम विकास कोष र स्तुपाको विकास तथा प्रवद्र्धनबारे हामीले रामग्राम नगरपालिकाका मेयर धनपत यादवसँग कुराकानी गरेका छौं।

    यहाँको नगरपालिकामा गौतम बुद्धको अस्तीधातु रहेको रामग्राम स्तुपा छ। यसको विकास र प्रवद्र्धकोे लागि रामग्राम नगरपालिकाले के गरिरहेको छ ?

    रामग्राम स्तुपाको विकासको लागि आन्तरिक र बाहय पर्यटकको आवागमन बढाउन हामी निरन्तर लागिरहेका छौं। पहिले रामग्रामको प्रचार प्रसार पनि खासै भएको थिएन। म मेयर भएर आएपछि रामग्रामको महत्व उजागर गर्न हामीले विशिष्ठ व्यक्तीहरुलाई स्तुपाको भ्रमण गरायौं। अहिले रामग्रामबाट पण्डीतपुरलाई जोड्ने गरि ५२ करोडको लागतमा बाटो पनि बनाइरहेका छौं। बाहिरबाट बुद्धसँग सम्बन्धित पर्यटकहरुले रामग्राम स्तुपा र पण्डीतपुरको पनि भ्रमण गरुन् भन्ने हाम्रो चाहाना हो। पण्डीतपुर कोलियगढको राजधानी र बुद्धको मावली भन्ने लगभग प्रमाणित भएको छ। जियोफिजिक्स सर्भे भइसकेपछि त्यसको प्रतिवेदन पनि तयार भएको छ। प्रतिवेदन पुरातत्व विभागबाट हामीले लिएर आएको अवस्था छ।

    पछिल्लो पटक रामग्राम विकास कोष गठन गर्नुभएको छ। लुम्बिनी विकास कोष छदैछ। त्यस अन्तर्गत रामग्राम स्तुपा पनि पर्दछ। छुट्टै विकास कोष गठनको उदेश्य के हो?
    लुम्बिनी विकास कोष अन्तर्गत बुद्धसँग जोडिएका ऐतिहासिक महत्वको स्थलहरु छन्। कोषले तिनको विकास, प्रवद्र्धन र प्रचार प्रसार गरेको हामीले पाएनौं। लुम्बिनी विकास कोषले जुन भुमिका खेल्नुपर्ने हो खेल्न सकेन।
    २०७४ मा तीन तहको सरकार भइसकेपछि पनि लुम्बिनीको लागि २०४२ सालमा बनेका ऐन कायम छ। पुरानो ऐन अनुसार लुम्बिनी विकास कोष गठनका कुराहरु भइरहेको छ। अब स्थानिय सरकार भइसकेपछि केही काम त पालिकाहरुले पनि गर्नुपर्छ। रामग्राम स्तुपाको विकास प्रवद्र्धन गर्न यसलाई अगाडि बढाउन अधिकार दिन पर्छ। स्तुपाको विकासका लागि हाम्रो पनि भूमिका हुनुपर्छ भनेर हामीले रामग्राम विकास कोष गठन गरेका हौं। नित्तान्त रामग्राम स्तुपा र जिल्लाका अरु बुद्धसँग जोडिएका ऐतिहासिक ठाउँको विकास र प्रवद्र्धन गर्न कोष गठन भएको हो। यसले रामग्राम स्तुपाको विकासको लागि महत्वपूर्ण कार्य अघि बढाउँछ। रामग्राम विकास कोष गठन हुँदैमा सरकार तथा लुम्बिनी विकास कोष तर्सिनुपर्ने अवस्था छैन। लुम्बिनी विकास कोष होस् वा प्रदेश र स्थानिय सरकार हाम्रो उदेश्य रामग्रामको विकासको लागि हो।

    लुम्बिनी आएका पर्यटक मध्ये निकै कम रामग्राम स्तुपा आउने गर्दछन्। लुम्बिनीबाट यहाँ आउन सहज सार्वजनिक यातायातको व्यवस्था पनि छैन। अर्कोतर्फ दाताले दिएको विद्युतीय बस अलपत्र अवस्थामा छ। लुम्बिनी रामग्राम जोड्ने गरि सिधा सार्वजनिक यातायातको लागि यहाँहरुले कसरी पहल गरिरहनुभएको छ ?
    लुम्बिनीमा दर्सन गर्न आउने बुद्धिष्ट पर्यटक रामग्रम स्तुपा पनि आउनैपर्छ। किनकी लुम्बिनी बुद्ध जन्मीनुभएको ठाउँ हो। रामग्राममा बुद्धको अस्ती धातु सुरक्षित छ, खोलिएको छैन। बुद्धजन्मस्थलमा आएका पर्यटकलाई रामग्राम ल्याउने वातावराण लुम्बिनी विकास कोषले बनाउनुपर्र्छ। कोषले पर्यटकहरुलाई रामग्रामको महत्व दर्साउनुपर्छ।
    लुम्बिनीमा दाताले दिएका विद्युतीय बस अलपत्र अवस्थामा छ। यी बस चलाउनुपर्छ भनेर हामीले पटक पटक कुरा उठाएका छौं। केही दिन त्यो बस चलेको पनि हो। रामग्राम स्तुपसम्म बस आएको थियो। पछि नम्बर प्लेटको कारण गाडी बन्द भयो भन्ने सुनियो। सेतो नम्बर प्लेटमा यात्रु ओसार्न मिल्दैन भनेर रोकियो। नम्बर प्लेटको यति सानो कुरालाई संघ र प्रदेश सरकारले सहजसँग परिवर्तन गरिदिनुपर्छ। दाताले दिएका चिजलाई हामीले सद्भाव राखेर सञ्चालनमा ल्याउनुपर्छ। त्यसो भयो भने आउने दिनमा पनि दाताहरुबाट सहयोग पाउने वातावरण बन्छ। हामीले चारवटा पालिकामा समिति पनि बनाएका छौं। यातायातका कुराहरु कसरी अगाडि बढाउने भन्ने बारे छलफलमा गरेका छौं। पहिले विद्युतीय बस चलाउन कोषलाई दबाब दिन्छौं। भएन भने हामीले कुनै निकास निकाल्छौं। चार पालिका मिलेर पर्यटकहरुलाई लुम्बिनी सहित रामग्राम, देवदह तिलौराकोट लगायतका बुद्धस्थलमा पुर्याउने सहज वातावरण बनाउँछौं।

    देशका कतिपय पालिकाले सर्वजनिक वस पनि चलाएका छन्। रामग्राम आँफैले या अन्य पालिकासँग मिलेर बुद्धस्थल जोड्ने गरि सार्वजनिक बस सञ्चालन गर्ने सम्भावना कस्तो छ?
    मैले अघिनै भनिसकें। लुम्बिनी सांस्कृतिक, देवदह, कपिलबस्तु र हामी रामग्रामसहित चार पालिका बसेर छलफल गरेका छौं। हामी समिति पनि बनाएका छौं। पलिकाहरुले संयुक्त रुपमा बस चलाउने कि लुम्बिनी विकास कोषलाई अगुवाइ गर्न लगाएर हामीले बजेटको व्यवस्था गरेर अघि बढ्ने भन्ने बारे एक चरणको छलफल भएको छ। कोषले चासो दिएन भने हामी मिलेर भएपनि बुद्धस्थल जोड्ने गरि पर्यटकीय बस सञ्चालन गर्छौ।

    विद्युतीय बस सञ्चालन हुन अझै केही समय लाग्ला, पालिका मिलेर बस चलाउन पनि केही लामो प्रक्रिया होला। अहिले पर्यटनको सिजन छ। बस व्यवसायीहरुलाई अनुरोध गरेर पर्यटकको लागि बस चलाउन पनि सकिन्छ नि ?
    त्यो पहल गर्न सकिन्छ सम्भावना पनि छ। बस व्यवसायीसँग छलफल गर्छौं। उहाँहरुका पनि रुटका कुरा हुन्छ। यात्रु तथा पर्यटक कहिले हुन्छन् कहिले हुन्नन्। नियमित सञ्चालनको लागि उहाँहरुलाई आर्थिक नोक्सान हुन सक्छ। त्यसलाई हामीले कसरी सहजिकरण गर्ने भन्ने कुरा पनि निर्णय गर्नुपर्छ। निजी क्षेत्रसँग सहकार्य गरेर बस सञ्चालन गर्न पनि सकिन्छ।

    लुम्बिनी सहित रामग्राम देवदह र कपिलबस्तुको पर्यटकीय विकासको लागि संघ र प्रदेश सरकारको भूमिका के हुनुपर्छ । तपाई पालिकाहरुले के गर्नुहुन्छ ?
    पर्यटकीय विकासको लागि तीनै तहका सरकारको समन्वय एकदम आवश्यक छ। आएका पर्यटकहरुलाई हामी स्थानिय तहले व्यवस्थापन गर्नुपर्छ। उहाँहरुलाई यहाँको वातावरणमा बसाल्ने सहज तरिकाले घुमाउने, बसाइ बढाउने कुरामा हामीले भूमिका खेल्न सक्छौं। लुम्बिनी आएका पर्यटकहरु एक दिन मात्र बस्छन्। त्यसैले लुम्बिनीमा आएपछि रामग्राम आउने देवदह तिलौराकोट जाने वातावरण बनाउनुपर्छ। बुद्धसँग जोडिएका अरु स्थलहरु र सांस्कृतिक पाटोलाई पनि जोड दिएर अगाडि बढाउनुपर्छ। यसमा तिनै तहका सरकारको समन्वय अति जरुरी छ।