सुदीप पौडेल
विश्वमाझ नेपाल गौतम बुद्ध र सगरमाथाकै नामले चिनिने गर्दछ। हामीलाई संसारमा चिनाउने गौतम बुद्धको घर कपिलबस्तुमा हो। उहाँले २९ वर्ष विताएको ठाउँ राजा शुद्धोधनको दरबार तिलौराकोट अझै ओझेलमा छ। तिलौराकोटको जति महत्व छ राज्यले त्यो महत्वका साथ हेरेको छैन। गौतम बुद्धको जन्म भएको लुम्बिनी आँफैमा एउटा धार्मिक स्थल हो। उहाँको बास्तविक घर र राजा शुद्धोधनको दरबार उत्तीकै महत्वको ठाउँ हुनुपर्ने हो।
राज्यले तिलौराकोटलाई उपेक्षा गर्यो भनेर २०५३ सालमा हामी चार जना युवाहरुले मेचीदेखी महाकालीसम्म साइकिल यात्रा पनि गर्यौं। त्यसबेला हाम्रो विद्यार्थी जिवन थियो। अहिले म मेयर भइसकपछि पनि तिलौराकोटलाई अगाडि बढाउन धेरै फोरममा कुरा उठाइरहेको छु। बुझ्दै जाँदा विभिन्न बाह्य शक्तीको दबाबमा तिलौराकोटलाई खासै अघि बढाउन नसकेको देखिएको छ। २ वर्ष यता लुम्बिनी विकास कोषको अथक प्रयास र त्यसमा हामी स्थानिय सरकारले पनि तिलौराकोटको प्रवद्र्धनमा सहयोग गरिरहेका छौं। तिलौराकोटलाई विश्व सम्पदा सुचिमा सूचिकृतको लागि मनोनयन गरिएको छ। विश्व सम्पदामा सूचिकृत गर्न सक्यौं भने यहाँ पर्यटकहरुको आगमन बढ्नेछ भन्ने हामीले विश्वास लिएका छौं।
अहिलेको अवस्थामा लुम्बिनी आएका मध्ये १० प्रतिसत पर्यटक पनि तिलौराकोट आउँदैनन्। तिलौराकोट बुद्धको घर हो भन्ने धेरैलाई थाह छैन। कुनै फोरममा हामी बोल्दा कतिपय राम्रै मान्छेले गौतमबुद्धको घर तौलिहवा हो भन्ने मलाई थाहै थिएन भन्नुहुन्छ। हामीले प्रचार प्रसार गर्न नसकेका कारण यो अवस्था छ। हाम्रो पनि कमजोरी हो। यसलाई प्रचार प्रसार गरेर अगाडि बढाउन ल्याउन जरुरी छ। लुम्बिनी, हाम्रो यहाँको तिलौराकोट एक मात्र अस्तुधातु रहेको स्थान रामग्राम र बुद्धको मावोली देवदह यी चार ठाउँलाई जोडेर बुद्धपरिपथ पनि बनाउने भनेर हामीले छलफल गरिरहेका छौं।
चार नगरपालिकाको मेयरहरुको धेरै फोरममा छलफल पनि भएको छ। यहाँ आएका पर्यटकलाई कम्तीमा तीन चार दिन घुमाएर भुलाउन सक्ने वातावरण बनोस् भनेर हामी अघि बढिरहेका छौं। अहिले लुम्बिनी आएका पर्यटकहरुलाई अन्य बुद्धस्थल जान सहज यातायातको व्यवस्था पनि छैन। भएका यातायात पनि स्तरिय र पर्यटक मैत्री छैनन्। लुम्बिनी विकास कोषमा अलपत्र परेका ५ वटा विद्युतीय बसलाई सञ्चालनमा ल्याउन पर्छ भनेर कुरा कुरा उठाइरहेका छौंं। लुम्बिनी विकास कोषले निर्णय गरेर मन्त्रिपरिषदमा पठाएको छ। सेतो नम्बर प्लेटलाई हरियो बनाउन ऐन संसोधन गर्नुपर्छ भन्ने हामीले सुनेका छौं।
लुम्बिनीको विद्युतीय बसको प्रक्रिया लामो भएपनि हामी ४ पालिकाका मेयर बसेर यसलाई कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने बारे छलफल गछौं। काठमाडौंमा हुन लागेको एनआरएनको कार्यक्रममा हामी चारैजना मेयर सहभागी हुँदै छौं। त्यहाँ पनि हामी विस्तृत छलफल गर्ने छौं।
तत्काललाई हामीले निजी संस्थालाई बस सञ्चालन गर्न आग्रह गर्न सक्छौं। पालिका आँफैले अहिले सञ्चालन गर्ने सम्भावना छैन। चारवटा पालिका सहकार्यमा कार्यविधि निर्माण गर्नुपर्छ। बजेट छुट्याउनुपर्छ। आगामी आर्थिक वर्षका लागि यसबारे निती बनाएर बजेट छुट्याउन सक्छौं। अहिले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं। विद्युतीय बस चलेन भने पनि केही न केही विकल्प गछौं।
लुम्बिनी र बुद्धस्थलहरुको विकास र प्रवद्र्धनको लागि तिनै तहका सरकारको भूमिका हुन्छ। संघिय सरकारले अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नुपर्छ। गुरुयोजना अन्तर्गतका संरचनाहरु छिटो निर्माण गर्नुपर्छ। प्रचार प्रसार, लुम्बिनी सहित अन्य पर्यटकीय स्थलको जोड्ने काम प्रदेश सरकारले गर्नुपर्छ। हामी स्थानिय सरकारले यहाँ आउने पर्यटकलाई राम्रो सत्कार गर्ने, ठाउँहरुको बारेमा जानकारी गराउने गर्छौं। तौलिहवाका सडकमा राजा शुद्धोधन, मायादेवी, यसोधरा लगायतका मुर्ति राख्ने योजनामा छौं। जसले आउने पर्यटकलाई म बुद्धको घर आए भन्ने महसुस गराउँछ।
कुराकानीमा आधारीत