२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • पोखरमा प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन हुने

    पोखरा- पर्यटकीय सहर पोखरामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ । आगामी मे २९ देखि जुन १ सम्म सो संस्थाको शिखर सम्मेलन तथा एडभेञ्चर ट्राभल मार्ट पोखरामा आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनञ्जय रेग्मीले जानकारी दिए । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएपछि पहिलो पटक मुलुकमा सम्मेलन हुन लागेको हो ।

    नेपाल सरकार, पर्यटन बोर्ड तथा पाटाको मुख्य आयोजनामा हुने कार्यक्रमको स्थानीय संयोजन पोखरा परिषद्ले गर्ने पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । शिखर सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको र समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्था सदस्य रहेका छन् ।

    कोभिड–१९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र विशेष गरी पोखरा र गण्डकी प्रदेशको पर्यटनका लागि मार्ट र शिखर सम्मेलन कोसेढुङ्गा हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।
    शिखर सम्मेलनमा १५ देशका गन्तव्य प्रमुख सम्मिलित पाटा कार्यकारी बोर्ड सदस्यको सहभागिता रहनेछ । नेपालले पहिलो पटक आयोजना गर्न लागिको प्रतिष्ठित पाटा शिखर सम्मेलनले नेपाल र पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने विश्वास गरिएको छ ।