२०८१ मंसिर ९ गते, आईतवार १४:२०
  • भैरहवा विमानस्थलमा एकैपटक अन्तर्राष्ट्रिय उडानका ३ जहाजको भेट

    भैरहवा-उद्घाटन भएको साढे २ वर्षसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय जस्तो देखिन्थ्यो। विमानस्थलमा आन्तरिक तर्फ उडान र अवतरण भइरहेपनि अन्तर्राष्ट्रिय कक्ष लगभग सुनसान थियो। तर एक दुई दिन यता भने मुलुक बाहिरबाट आउने र यताबाट जाने यात्रुहरुको भैरहवा विमानस्थलमा चहलपहल बढेको छ। एकपछि अर्को उडान थपिएका छन्।

    केहीदिन अघिसम्म सुनसान देखिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले विदेशी विमानहरु देखिन थालेका हुन्। मंगलबार दिउसो विमानस्थलमा एकैपटक ३ वटा ठूला जहाज भेट भएका थिए। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले फेसबुकमा भिडियो पोष्ट गर्दै ‘ कतार एयरवेज ए ३३० को ऐतिहासिक/पहिलो अवतरणसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन एयरलाइन्स (फ्लाई दुबई, जजिरा र कतार) को एकै पटक भेट’ भनेर लेखेका छन्। भिडियोमा कतार एयरवेजको जहाज पहिलो पटक भैरहवामा अवतरण हुँदैगर्दा जजिराको जहाज उडान भर्दै थियो। फ्लाई दुबईको जहाज पार्किङमा देखिएको थियो।

    जजिराको उडान तालिका विहानमा थियो। विहान हुस्सु लागेर विजिविलिटी नपुग्दा जहाज काठमाडौं डाइभर्ट भएको थियो। आकास खुलेपछि दिउसो मात्र भैरहवा आएको थियो। फ्लाई दुबईको र कतार एयरवेजको उडान तालिका दिउसो नै छ।
    अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी जहाजहरु हुनु नौलो कुरा त होइन। यस अघि ठूला जहाज नै नदेखिनु पनि पक्कै स्वभाविक थिएन। अर्बौ खर्च गरेर बनाएको विमानस्थलमा लामो समय सम्म अन्तर्राष्ट्रिय उडान नहुँदा निरासा छाएको थियो। त्यसैले उडान थपिनु र धावनमार्गमा ३ वटा विदेशी विमानहरु देखिँदा आशा र उत्साह छाएको छ।