२०८१ मंसिर ७ गते, शुक्रबार ०५:३५
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन निजि क्षेत्रको भूमिका आवश्यक

    बुटवल -भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यसको निरन्तरताको लागि निजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रममा बताइएको छ। नेपाल टुर एन्ड ट्राभल एशोसिएन नाट्टा लुम्बिनीले आयोजना गरकोे अन्तरक्रियामा सहभागीहरुले अब अन्तर्राष्ट्रिय उडानको निरन्ततारमा ध्यान दिनुपर्ने उल्लेख गरे।

    कार्यक्रममा नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले विमानस्थल चलाउनको लागि ट्राभल एजेन्टका साथै, होटल व्यवसायी, यातायात व्यवसायी लगायतले पनि भूमिका खेल्नुपर्ने बताइन। नाट्टा लुम्बिनीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद अधिकारी सागरले उडान भएको तर यात्रु मैत्री पूर्वाधारहरु विमानस्थलमा तयार नभइसकेको बताए।

    नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले काठमाडौँ केन्द्रीत सोँचाइको कारण नयाँ विमानस्थल सञ्चालन हुन गाह्रो भएको बताए। उनले काठमाडौं केन्द्रीत सोंचाइको लागि बाहिरका व्यवसायीले दबाब दिनुपर्ने उल्लेख गरे।नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष हरेराम अधिकारीले भैरहवा विमानस्थल चलाउन आफ्नो प्रदेशको पनि साथ रहने उल्लेख गरे। गण्डकीकी उपाध्यक्ष संगिता पौडेलले विमानस्थल चलाउन प्याकेज विक्रि गर्नुपर्ने बताइन्।

    नट्टा सुदुरपश्चिम अध्यक्ष पंकजविक्रम सिंहले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदा आफ्नो प्रदेशलाई पनि फाइदा हुने धारणा राखे।
    कार्यक्रममा नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष चन्द्र थापा, उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठ, नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाह, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका सल्लाकार भिमलाल ज्ञवाली, संघका सचिव अर्जुन थापा लगायतले विमानस्थल सञ्चालनको लागि भैरहवा र अरु शहरसँग सहज कनेक्टीभिटी हुनुपर्ने, होटल व्यवसायीहरुले छुट सुविधा प्रदान गर्नुपर्ने, बुद्धिष्ट मुलुकमा लुम्बिनी लगायत यहाँको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नुपर्ने बताएका थिए। सहभागी सञ्चारकर्मीहरुले विमास्थल सञ्चालनको लागि आफूहरुको साथ निरन्तर रहने उल्लेख गरे।