
लुम्बिनी -बुद्ध जन्मस्थल लुम्बिनीमा नयाँ वर्षको दिन आन्तरिक पर्यटकहरुको चहलपहल थियो। मायादेवी मन्दिर परिसर, शान्तिदीप लगायतका क्षेत्रमा दिनभर जसो भिडभाड देखिन्थ्यो। नयाँवर्षको दिन लुम्बिनीमा २० हजार बढि आन्तरिक पर्यटक आएको लुम्बिनी विकासको कोषले जनाएको छ। यो साँझ ५ वजेसम्मको तथ्यांक भएको र त्यसपछि बेलुका अबेरसम्म पनि घुम्नेहरुको भिड रहेको कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए।
लुम्बिनी घुम्न आउने धेरै जसो रुपन्देही नवलपरासी र कपिलबस्तुका थिए। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकको कारण टाढाका पर्यटक घटेका हुन्। टाढाका पर्यटक नआउँदा होटलका कोठा भने निकै कम गएको लुम्बिनी होटल संघका उपाध्यक्ष लिलामणी शर्माले बताए। केही दिन अघि बर्षाका कारण दाउन्नेको सडक अवरुद्ध हुँदा बुकिङ भएका टिकट रद्द भएको र अहिले होटलमा ३० प्रतिसत जति मात्र अक्कुपेन्सी रहेको उनले जानकारी दिए।