
भैरहवा व्यवसायीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारमा धर्ना र प्रदर्शन गरेका छन्। चेम्बर अफ कमर्स (उद्योग ब्यापार संगठन) रुपन्देहीको नेतृत्वमा भएको प्रदर्शनमा भैरहवाका दर्जन बढी संघसंस्थाको सहभागिता थियो। व्यवसायीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान शुरु गर्नुपर्ने,अत्यावश्यक सरकारी कार्यालयहरु सञ्चालनमा ल्याउनुपर्ने लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।
व्यवसायीहरुले विमानस्थल पूर्णक्षमतामा नचल्दा मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्। ‘आफ्नो व्यवसायमा समय र ध्यान दिनुपर्ने व्यवसायीहरु ढेड वर्ष यता विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुप¥यो भन्ने माग गर्दै पटक पटक आन्दोलनमा समय खर्चिनुपरेको छ’– चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले भने–‘आजको धर्ना सांकेतिक झिल्को हो, सरकारले तत्काल अन्तर्राष्ट्रिय उडानको ग्यारेन्टी गरेन भने निर्णायक आन्दोलन हुन्छ।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए। ‘यो चर्को घाममा सडकमा दबाब कार्यक्रम गर्ने हाम्रो पनि रहर होइन,’ उनले भने, ‘तर, सरकारले हाम्रो माग सुनेन, व्यावसायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर संघर्षका कार्यक्रम गर्नु परेको हो।’ रुपन्देहीको निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरे पनि सरकारले नसुनेको उनले दुखेसो गरे। सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको बताए।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ संजाल, रुपन्देही अध्यक्ष अनिलकुमार ज्ञवाली, उद्योग व्यापार संगठनका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी, संगठनकी महासचिव लक्ष्मी अधिकारी, लुम्बिनी ईंटा उद्योग ब्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ता, सिद्धार्थनगर वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव, मोबाइल व्यवसायी संघका अध्यक्ष बैजनाथ गुप्ता लगायतले बोल्दै निजी क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्दा समेत विमानस्थल संचालनमा सरकारले खेलाँची गरिरहेको जनाए।