२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • तीन महिनामा तेस्रो मुलुकबाट २८ हजार पर्यटक लुम्बिनी आए (कुन मुलुकबाट कति)

    लुम्बिनी- २०२३ सुरु भए यता बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाल र भारत बाहेक तेस्रो मुलुकबाट मात्र २८ हजार ८०६ पर्यटक आएका छन् । सन २०२२ मा २३ हजार ९४२ तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएकोमा यो वर्षको ३ महिनामा मात्र त्यो भन्दा बढि पर्यटक आएका हुन् ।

    जनवरी महिनामा तेस्रो मुलुकबाट ३ हजार ९८७ पर्यटक लुम्बिनी आएका थिए । फेबुररीमा १२ हजार ५ २२ र मार्चमा १२ हजार २९७ विदेशी पर्यटक आएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    २०२३ को यो तीन महिनामा लुम्बिनी आउने पर्यटक मध्ये सबै भन्दा बढि थाइल्याण्डका ७ हजार ७६० जना रहेका छन् । श्रीलंकाका ५ हजार १५८, म्यानमारका ४ हजार ३४२, भियत्नामबाट २ हजार ९११ र दक्षिण कोरियाका २ हजार ८८५ जना रहेका छन् । अरु मुलुकका हजार भन्दा कम छन् ।

    जर्मनीबाट ६४८, अमेरिकाबाट ५६७, कम्बोडियाबाट ५३४, फ्रान्सबाट ४१६ पर्यटक आएका छन् । छिमेकी मुलुक चिनबाट ३६९ जना पर्यटक आउँदा मलेसियाबाट ३३२, नेदरल्याण्डबाट २९४, बेलायतबाट २६१, रुसबाट २१४ जना आएका हुन् ।

    लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको चहलपहल बढ्न थालेपछि व्यवसायीहरु आशावादी बनेका छन् । ३ वर्ष यता कोरोना संक्रमणको कारण लुम्बिनीको पर्यटक क्षेत्र थला परेको थियो ।