
लुम्बिनी– तीन दिन विभिन्न कार्यक्रम गरेर लुम्बिनीमा यस वर्ष बुद्ध जयन्ती मनाइने भएको छ। २५६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा यही बैंशा २८ गतेदेखी ३० गतेसम्म विभिन्न कार्यक्रम गरिने लुम्बिनी विकास कोषले जनाएको छ। बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन २९ गते विशेष समारोह हुने प्रचार–प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले शनिवार आयोजित पत्रकार सम्मेलनमा बताए।
सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने उनले जानकारी दिए।

वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरूको सहभागितामा प्रार्थना सभा, बिहान ७ः३० बजे शोभायात्रा हुने छ।
पत्रकार सम्मेलनमा कोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले बुद्धजयन्ती भव्य बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिए। उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित चीन, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशका राजदूत समेत कार्यक्रममा सहभागी हुने बताए। मूल समारोह व्यवस्थापनका लागि ३० सदस्यीय सल्लाहकार समिति, प्रचार प्रसार समिति, सुरक्षा व्यवस्था समिति, शोभायात्रा तथा भोजन व्यवस्थापन समिति लगायतका उपसमितिहरू गठन गरिएको छ।
बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत रामग्राम, तिलौराकोट दरबार, कुदान, देवदह लगायतका क्षेत्रमा बुद्ध जयन्तीका अवसरमा सरसफाइ, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान, नाट्य प्रस्तुति, शान्ति ध्यान र प्रशुति उत्सवजस्ता विविध कार्यक्रम समेत आयोजना गरिएको छ ।
वैशाख ३० गते नवजात शिशु राजकुमार सिद्धार्थलाई लुम्बिनीबाट कपिलवस्तु लगेर बोधिसत्व सिद्धार्थको शोभायात्रा हुने छ । मायादेवी मार्ग हुँदै कपिलवस्तुको तिलौराकोटसम्म शोभायात्रा गरिने छ ।