२०८२ जेष्ठ ९ गते, बिहीबार २३:२३
  • बुद्ध परिपथको विकास र प्रवर्द्धनको लागि गर्नैपर्ने महत्वपूर्ण काम

    बुद्धस्थलहरुमा पर्यटनमैत्री वातावरण निर्माण र सहज यातायातको व्यवस्था


    सुदीप भण्डारी

    बुद्धजन्मस्थल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो। लुम्बिनी र आसपासमा बुद्धसँग सम्बन्धित अरु महत्वपूर्ण ठाउँपनि छन्। कपिलबस्तुको तिलौराकोटमा गौतम बुद्धले २९ वर्ष विताएका थिए। जहाँ उनका पिता राजा सुद्धोधनको दरबार रहेको थियो। कपिलबस्तुमै बुद्धसँग सम्बन्धित कुदान, गोटीहवा, निग्लीहवा, सगरहवा, अरौराकोट, सिसहनिया लगायतका पुरातात्वीक ठाउँ छन्। नवलपरासी पश्चिममा बुद्धको अस्तीधातु रहेको रामग्राम स्तुपा, कोलीय गणराज्यको राजधानी मानिएको पण्डीतपुर छ। रुपन्देहीमा बुद्धको मावली स्थल देवदह रहेको छ। तर यी ठाउँहरु एक प्रकारले ओझेलमा रहेका छन्।

    गत वर्ष सन् २०२४ मा ११ लाख ७५ हजार ३०४ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। जसमध्ये ७ लाख ५९ हजार ९९० जना आन्तरिक पर्यटक रहेको लुम्बिनी विकास कोषले जनाएको छ। सोही वर्ष ३ लाख ८८९ भारतीयले लुम्बिनी भ्रमण गरेका छन्। भारत बाहेक तेस्रो मुलुकबाट १ लाख १४ हजार ४२५ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी घुमेका छन्। गत वर्ष लुम्बिनी आएका मध्ये ५ प्रतिसत जति पनि अरु बुद्धस्थलमा पुगेका छैनन्।

    लुम्बिनी आएका अधिकांस पर्यटकहरु एकैछिन घुमेर फर्किने गरेका छन्। पर्यटकको बसाइ लम्बाउन अन्य बुद्धस्थलमा पनि पुग्ने वातावरण बनाउनुपर्ने आवाज उठेको छ। त्यस सम्बन्धी ठोस योजना छैन। लुम्बिनी भ्रमणमा आउने मध्ये कतिपयलाई रामग्राम, तिलौराकोट, देवदह लगायतका ठाउँबारे थाहै छैन। कतिपयले नाम मात्र सुनेको तर यी बुद्धस्थलको महत्व बारे जानकारी नभएको हुनसक्छ। धेरै जसोमा अन्य बुद्धस्थलहरु बारे राम्रो ज्ञान भए पनि त्यहाँ जाने सहज वातावरण नबनेको हुनसक्छ।
    सरकारले रुपन्देही, नवलपरासी पश्चिम र कपिलबस्तुका बुद्धस्थलहरुको एकिकृत रुपमा विकास, संरक्षण र प्रवद्र्धन गर्ने गरि बृहत लुम्बिनीको अवधारणा अघि सारेको छ। बुद्धस्थलहरु भ्रमण गर्न सकिने गरि बुद्ध परिपथको चर्चा पनि गरिन्छ। तर बृहत लुम्बिनी क्षेत्र र बुद्ध परिपथको अवधारणालाई व्यवहारिक रुपमा अघि बढाउने कुनै ठोस कार्य भएको देखिँदैन।

    तीन जिल्लाका बुद्धस्थलहरु लुम्बिनी विकास कोषको मातहतमा रहेका छन्। तर लुम्बिनीसँग जोडेर अन्य बुद्धस्थल र बुद्धपरिपथको विकास तथा प्रर्वद्धन हुन सकेको छैन। लुम्बिनी आएका पर्यटकहरु बुद्धपरिपथ भएर अन्य बुद्धस्थलमा पुग्ने वातावरण बनेको छैन। पहिलो कुरा तर बुद्धस्थलहरुको विकासमा संघिय सरकारले खासै ध्यान दिएको छैन। अर्को कुरा यहाँको उचित प्रचार प्रसार पनि हुन सकेको छैन। यस्तै बुद्धपरिपथको यात्रा गर्न पनि सहज छैन। अब लुम्बिनीसँगै अन्य बुद्धस्थलहरुको विकास र प्रवद्र्धनको लागि निम्न कुराहरु गर्न आवश्यक छ।

    बुद्धजन्मस्थल लुम्बिनीमा अन्य बुद्धस्थलहरुबारे जानकारीको लागि सुचना केन्द्र
    पर्यटकहरु लुम्बिनी घुम्न आए भने उनीहरुलाई अन्य बुद्धस्थलहरु बारे जानकारी दिने संयन्त्र र माध्यम छैन। पर्यटकहरु आउँछन्, मायादेवी मन्दिर शान्तिदीप लगायत केही ठाउँ घुम्छन् र उतीखेरै फर्किन्छन्। लुम्बिनी आएका प्रत्येक पर्यटकहरुलाई लुम्बिनी सहित अन्य बुद्धस्थल बारे जानकारी दिने सूचना केन्द्र हुनुपर्छ। पर्यटकहरु लुम्बिनी आएपछि केही बेर सूचना केन्द्रमा रहने वातावरण बनाउनुपर्छ। पर्यटक सूचना केन्द्रमा अन्य बुद्धस्थलहरु बारेको विभिन्न तस्वीर, भिडियो, टुर गाइड मार्फत जानकारी दिने व्यवस्था गर्नुपर्छ। समूहगत भ्रमणमा आएकालाई अनिवार्य रुपमा बुद्धस्थलहरुको बारेमा व्रिफिङ गर्नुपर्छ। यसले पर्यटकहरुलाई अन्य बुद्धस्थल जान प्रेरित गर्छ।
    सूचना केन्द्र बाहेक होटल व्यवसायीहरुले पनि आफ्नोमा बसेका पर्यटकहरुलाई बुद्ध परिपथ अन्तर्गत पर्ने बुद्धस्थलहरुको बारेमा जानकारी दिनुपर्छ। यसो भएमा केही पर्यटकहरु बुद्धपरिपथको भ्रमण पनि गर्नेछन् भने जान नचाहानेहरुले पनि कम्तीमा ती बुद्धस्थलहरुको महत्व बारे थाह पाउनेछन्।

    बुद्धस्थलको लागि पर्यटनमैत्री सिधा सार्वजनिक यातायात
    लुम्बिनी आएका पर्यटकहरुलाई अरु बुद्धस्थल जाने चहाना भयो भने पनि त्यती सहज यातायात छैन। उदाहरणको लागि लुम्बिनीबाट रामग्राम जानुपर्यो भने सिधा सार्वजनिक यातायात छैन। लुम्बिनीबाट पहिले भैरहवासम्मको बसमा जानुपर्यो । भैरहवाबाट परासीको लागि अर्को बस चढ्नुपर्छ। थोत्रा र पुराना बसको यात्रा निकै दिक्क लाग्दो र कष्टकर हुने गर्दछ। परासी चोकमा पुगी फेरी अर्को बस कुरेर वा अटोे रिर्जव गरि चार किलोमिटर यात्रा गरेपछि मात्र रामग्राम स्तुपा पुग्न सकिन्छ। लुम्बिनीबाट बुद्धको माओली देवदह जान पनि दुई तिनवटा गाडी चढ्नुपर्छ।
    त्यस्तै लुम्बिनीबाट कपिलबस्तु पुग्न पनि लोकल बसको हालत विजोग छ । तौलिहवामा झरेर ३ किलोमिटरको लागि अर्को गाडी या अटो रिक्सा चढेपछि मात्र तिलौराकोट पुग्न सकिन्छ । बुद्ध परिपथमा सहज र पर्यटनमैत्री सार्वजनिक यातायात नहुँदा पनि अन्य अन्य बुद्धस्थलमा पर्यटकको आकर्षण बढ्न सकेको छैन । निजी गाडी रिर्जव गरेर बुद्धस्थल घुम्न ५–७ हजार लाग्छ । तर पर्यटनमैत्री सिधा सार्वजनिक यातायात सञ्चालन भयो भने आरामदायी तरिकाले ४–५ सयमै पर्यटकले बुद्ध परिपथको यात्रा गर्नेछन् । सस्तोमा सुविधाजन तरिकाले यात्रा गर्न पाउँदा बुद्धपरिपथ घुम्ने पर्यटकहरु बढ्ने छन्। लुम्बिनी आएका पर्यटकहरुको बसाई पनि लम्बिन्छ र अरु बुद्धस्थलहरुको प्रवद्र्धन पनि हुन्छ।
    अहिले लुम्बिनीमा ५ वटा विद्युतीय बस र १४ वटा भ्यान अलपत्र अवस्थामा छन्। पछिल्लो समय अदालतले बसको सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्न आदेश दिएको छ। आदेश अनुसार अब तुरुन्तै बुद्ध परिपथमा यी बस चलाउनुपर्छ। यदि सेता विद्युतीय बस चलेन भने नीजि क्षेत्रबाट भएपनि बस सिधा पर्यटकमैत्री बस सञ्चालन हुनुपर्छ।
    अहिले बुटवलबाट लुम्बिनी पनि सिधा सार्वजनिक यातायात छैन। बुटवलबाट भैरहवा गएर अर्को बस चढेर मात्र लुम्बिनी पुग्न सकिन्छ। बुटवल र लुम्बिनी नियमित रुपमा सिधा सार्वजनिक यातायात सञ्चालन हुने हो भने दुबै ठाउँमा पर्यटकको चहलपहल बढ्नेछ।

    पर्यटन व्यवसायीहरुबाट बुद्धपरिपथको प्याकेज
    पर्यटन व्यववसायीहरुले बुद्ध जन्मस्थलसँगै अन्य बुद्धस्थललाई पनि ध्यान दिन आवश्यक छ। यहाँका पर्यटन व्यवसायीहरुले लुम्बिनी र तीनवटै जिल्लाका बुद्धस्थलहरुको प्याकेज बनाएर प्रचार प्रसार गर्नुपर्छ। बुद्ध परिपथमा पर्यटनमैत्री बस सञ्चालन भएमा सार्वजनिक यातायातलाई समेटेर सस्तो प्याकेज बनाउन सकिन्छ। त्यस्तै रिर्जब गाडीमा यात्रा गर्नेहरुको लागि सोही खालको प्याकेज बनाउनुपर्छ। प्याकेजमा रामग्राम, देवदह, लुम्बिनी, कपिलबस्तु घुम्न कति दिनको लागि कति खर्च लाग्छ भनेर स्पष्ट उल्लेख हुनुपर्छ। बेलामौकामा प्याकेजमा छुटको घोषणा तथा अरु सुविधाहरु पनि थप गर्नुपर्छ। यसरी बनाएको प्याकेजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार समेत गर्नुपर्छ।

    बुद्धपरिपथका पालिकाहरुको सक्रियता
    बृहत लुम्बिनी क्षेत्रको विकासको लागि बुद्धपरिपथका पालिकाहरुको पनि सक्रियता आवश्यक पर्दछ। बुद्ध परिपथ भित्र मुख्यगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, नवपरासी पश्चिमको रामग्राम नगरपालिका, रुपन्देहीको देवदह नगरपालिका र कपिलवस्तुको कपिलबस्तु नगरपालिका पर्दछन्। यी पालिकाहरुले आफ्नो ठाउँमा रहेको बुद्धस्थलहरुको प्रचार प्रसार र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । बुद्धस्थलहरुको संरक्षण र पर्यटककीय वातावरण निर्माणमा नगरपालिकाहरुको विशेष दायीत्व र जिम्मेवारी हो। लुम्बिनी आएका पर्यटकहरुलाई आफ्नो बुद्धस्थस्थलमा आकर्षित गर्न विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ । पूर्वबाट आएका पर्यटकलाई रामग्रामबाट लुम्बिनी पुग्न सहज हुन्छ । त्यसैले नगरपालिकाले रामग्राम स्तुपबाट लुम्बिनी सहित बुद्धस्थलको यात्रा गरौं भन्ने खालको प्रचारात्मक अभियान सञ्चालन गर्न सक्छ । त्यसको लागि नगरपालिका आँफैले लुम्बिनीसम्म सुलभ दरमा लुम्बिनी सम्मको बस सञ्चालन पनि गर्न सक्छ। नगरपालिकाका पर्यटन व्यवसायीहरुले पनि रामग्रामबाट बुद्धस्थल घुम्ने गरि प्याकेज बनाउनुपर्छ।

    यता देवदह नगरपालिकाले पनि यो खालको अभियान चलाउन सक्छ। आएका पर्यटकहरुलाई देवदहका विभिन्न पुरातात्वीक स्थल घुमाएर लुम्बिनी जाने वातावरण निर्माण गर्न सक्छ। लुम्बिनी सांस्कृती नगरपालिकाले पनि बुद्धजन्मस्थलमा पर्यटनमैत्री वातावरण निर्माण गर्दै अन्य बुद्धपरिपथका अन्य पालिकाहरुसँग मिलेर कार्यक्रम सञ्चालन गर्नसक्छ। कपिलबस्तु नगरपालिकाले पश्चिमबाट आएका पर्यटकलाई तिलौराकोटमा स्वागत गरी जिल्लाका अन्य बुद्धस्थलहरु घुमाएर लुम्बिनी जाने वातावरण गराउनुपर्छ। रामग्राम र लुम्बिनीबाट आएका पर्यटकहरुलाई स्वागत गरि पर्यटनमैत्री सेवा प्रदान गर्नुपर्छ।
    यसबाहेक बुद्धस्थल बाहेक बुद्धपरिपथमा पर्ने पालिकाहरु बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कपिलबस्तुको बाडगंगा नगरपालिका लगायतका पालिकाले पनि लुम्बिनीसँग जोडेर आफ्ना पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नुपर्छ।

    बुद्धस्थलमा पर्यटकीय पूर्वाधार निर्माण
    लुम्बिनी सहित अन्य बुद्धस्थलहरुमा पनि पूर्वाधारहरु निर्माण गर्न जरुरी छ। लुम्बिनी विकास कोष, संघिय सरकार, प्रदेश सरकारहरुले पर्यटनमैत्री वातावरण हुने गरि पूर्वाधारहरु बनाउनुपर्छ। पर्यटकको लागि सूचना केन्द्र, पर्यटकको लागि आवश्यक विश्रामस्थल, ध्यान केन्द्र लगायतका पूर्वाधारहरु बनाउन जरुरी छ। त्यसको लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्छ। अहिले रामग्राम, देवदह र कपिलबस्तुहरुमा पर्यटनमैत्री स्तरिय होटलहरु खासै छैनन्। निजी क्षेत्रको पहलमा केही पर्यटनमैत्री स्तरिय होटल पनि स्थापना हुुनुपर्छ जसले गर्दा यी लुम्बिनी आएका पर्यटकले बुद्धस्थल अवलोकनको क्रममा रामग्राम, तिलौराकोट र देवदहमा पनि सुविधाजनक तरिकाले बस्न सकुन्।

    कपिलबस्तुको तिलौराकोट विश्व सम्पदा सूचीमा पर्न नसक्दा पनि यहाँ पर्यटक आकर्षित हुन सकेको छैन। अहिले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव पेश भइ प्रक्रिया अघि बढेको छ। तिलौराकोट विश्व सम्पदा सूचीमा सूचिकृत भएमा तिलौराकोट अन्तर्राष्ट्रिय पर्यटकहरु आकर्षण हुने माध्यम बन्छ। अर्को कुरा विश्व सम्पदा सूचीमा नपरे पनि तिलौराकोटको विकास र प्रवद्र्धनलाई अगाडी बढाउनुपर्दछ। साथै कपिलबस्तुका अन्य बुद्धस्थलहरुको पनि उचित प्रवद्र्धन हुनुपर्छ। रामग्राम, पण्डितपुर देवदह लगायतका ठाउँको उपयुक्त गुरुयोजना बनाइ, संरक्षण र प्रवद्र्धन गर्न सक्नुपर्छ। बुद्धजन्मस्थल लुम्बिनी मात्र नभई तीनवटै जिल्लाका बुद्धथलहरुको एकिकृत रुपमा अन्तर्राष्ट्रिय प्रचार प्रसार गर्ने, बुद्धपरिपथमा सहज यातायातको व्यवस्था गर्ने, बुद्धस्थलहरुमा पर्यटनमैत्री पूर्वाधार र वातावरण निर्माण गर्ने हो भने बृहत लुम्बिनी र बुद्धपरिपथको औचित्य सावित हुन्छ। यसबाट थप पर्यटक आकर्षित गर्न र उनीहरुको बसाइ लम्बाउन सकिन्छ।