२०८२ जेष्ठ ९ गते, बिहीबार १८:०९
  • भारत-पाकिस्तान युद्धको प्रभाव, लुम्बिनीका पहाडी गन्तव्यमा घटे भारतीय पर्यटक

    बुटवल-एक वर्ष अघि यतीबेला अर्घाखाँचीको नरपानी सुपा देउराली रिसोर्टमा पर्यटकहरुको चाँप हुन्थ्यो। धार्मिक स्थल सुपादेउरालीबाट केही दुरीमा नरपानी रिसोर्ट रहेको छ। उचाइमा मनोरम हिंम श्रींखलाको अवलोकन गर्न सकिने आकर्षक रिसोर्टमा आउने पाहुनाको थामी नसक्नु भिड हुन्थ्यो। शुक्रबार र शनिवार दिनमा ५० बढि पर्यटक फर्काउन पर्दथ्यो। फर्काइएका पाहुनालाई सन्धीखर्कसम्मका होटलहरुमा सिफ्ट गराउन पर्दथ्यो।

    तर गत वर्षको तुलनामा यो वर्ष पर्यटकको चाप ह्वात्तै घटेको नरपानी रिसोर्टका प्रबन्ध निर्देशक जिवलाल पौडेलले बताए। ‘बैशाखमा पोहर जस्तो पर्यटक आएनन्। यो वर्ष गर्मी कम भएर हो कि, भरखर जेठ सुरु भएको छ यो महिना आउलान कि।’ उनले भने ‘आन्तरिक पर्यटक त अलिअलि आइरहेका छन्। तर भारतीय पर्यटकहरु अपेक्षा गरे अनुसार आएका छैनन्।
    केही दिन अघि भारत पाकिस्तानबीच युद्ध भएको थियो। युद्धका कारण यो वर्ष भारतीय पर्यटकहरुको आगमन कम भएको हुन सक्ने पौडेलको भनाइ छ।

    नरपानी रिसोर्टमा गत वर्ष १६ वटा कोठा थिए। गर्मीमा पर्यटकको चाप बढ्ने हुँदा अहिले ६ वटा कोठा थपेर २२ पुर्याइएको रिसोर्टका प्रबन्ध निर्देशक पौडेलले बताए। तर कोठा थपेपनि पाहुना नथपिएको उनको भनाइ छ। कपिलबस्तुको गोरुसिंहेबाट अर्घाखाँचीको सन्धीखर्कसम्मको सडकमा अघिल्लो वर्ष यतीबेला भारतीय नम्बर प्लेटका गाडीहरुको लस्कर देखिन्थ्यो। गर्मी छल्न भारतीय पर्यटकहरु नेपालका पहाडी जिल्लाहरुमा आउने गर्दथे। तर अहिले गोरुसिंगे सन्धीखर्क सडकमा भारतीय पर्यटकहरुको ओहोरदोहोर कम देखिएको छ।

    एक वर्ष अघि यतीबेला पाल्पाका होटलहरु पनि भारतीय पर्यटकले भरिभराउ हुन्थे। तर अहिले यहाँका होटलमा चहलपहल कम छ। भारत पाकिस्तान युद्धको कारण गत वर्षको तुलनामा भारतीय पर्यटक धेरै कम भएको होटल श्रीनगरका म्यानेजर अशोक थापाले बताए। ‘केही दिन अघि भारत पाकिस्तानबीच युद्ध सुरु भएको थियो। त्यसबेला धेरैको ध्यान दुई देशको युद्धमा थियो। उनले भने युद्धको मानसिकताको असर परेको बेला मान्छेले घुम्ने योजना बनाउँदैनन्। त्यसको असर पाल्पाको पर्यटनमा पनि परेको हो।’ पाल्पामा यतीबेला होटल भरिभराउ हुनुपर्नेमा अहिले पाहुना नआएको थापाको भनाइ छ।

    होटल संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले छिमेकी मुलुकका विच द्वन्दसँगै मौसमको कारणले पनि पाल्पामा पर्यटक आगमन कम भएको हुन सक्ने बताए। ‘केही समय यता पानी पनि परिरहेको छ। तिब्र गर्मी पनि सुरु नभएकाले हो कि भारतीय पाहुना कम आएका छन्।’ उनले भने ‘गत वर्ष यतीबेला होटलहरु भरिभराउ थिए।’ तानसेनमा गत वर्ष चलपहल बढ्न थालेपनि पर्यटन व्यवसायी राजिव शाहले रानीमहल नजिक यसै बर्ष हेरिटेज रिसोर्ट सञ्चालनमा ल्याएका छन्। तर अपेक्षा गरे अनुसार पाहुना नआएको नाट्टा पाल्पाका अध्यक्ष समेत रहेका शाहले सुनाए सुनाए । ‘अहिले मौसमी र केही कारणले चलहपहल कम छ। विस्तारै पाहुनाहरु बढ्लान् भन्ने आशा छ ।’ उनले भने ।

    केही वर्ष यता गर्मी छल्न भारतीय पर्यटकहरु लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आउने क्रम बढेको थियो। गत वर्षको तुलनामा यो वर्ष भारतीयहरुको आगमन कम हुँदा गुल्मी, अर्घाखाँची र पाल्पाका होटल तथा पर्यटकीय गन्तव्यमा चहलपहल कम छ।