नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउन सरकार प्रतिबद्ध: पर्यटनमन्त्री पाण्डे

काठमाडौं-‘बुद्धिस्ट इन्टरनेश्नल ट्राभल मार्ट (बीआईटीएम) २०२५’ शुक्रबारबाट सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा काठमाडौंमा तेस्रो संस्करणको ट्राभल मार्ट सुरु भएको हो। मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए। “बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,” मन्त्री उनले भने।
मन्त्री पाण्डेले लुम्बिनीलाई ’अन्तर्राष्ट्रिय शान्ती सहर’का रुपमा विकास गर्ने समेत बताए। लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको समेत उल्लेख गरे।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल एक यात्रा गन्तव्य मात्र नभई अनुभूति भएको बताए। उनले नेपाललाई आध्यात्मिक र शान्तिको आधारशीला भएको मुलुकका रूपमा प्रस्तुत गर्दै यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम साझा प्रतिबद्धता र सार्थक सहकार्यको प्रमाण भएको उल्लेख गरे। कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले शान्ति र आध्यात्म पर्यटनमा बीआईटीएम उपयोगी बन्ने विश्वास व्यक्त गरे।

नेपाल उद्योग, वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हाक्र्याल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए। कार्यक्रममा नाट्टा र भारतको इन्डियन एसोसिएसन फर टुर अपरेटर्सबीच पर्यटन प्रवद्र्धन गर्ने समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।
त्यस्तै बीआईटीएम विशेष स्मारिका विमोचन गरिएको छ। तीन दिनसम्म चल्ने मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान लगायतबाट १ सयभन्दा बढी पर्यटन व्यवसायी सहभागी छन्।
