२०८२ असार १ गते, आईतवार ००:३८
  • ‘पर्यटन प्रवर्द्धनको लागि लुम्बिनी र पोखराका व्यवसायीहरुबीच सहकार्य आवश्यक’

    जाउँ है पोखराको टोलीद्वारा रुपन्देहीमा अन्तरक्रिया


    बुटवल- जाउँ है पोखरा अभियानको टोली र रुपन्देहीका व्यवसायीबीच अन्तरक्रिया भएको छ। तिलोत्तमामा भएको कार्यक्रममा पर्यटन प्रवद्र्धनको लागि दुबै ठाउँका व्यवसायीबीच सहकार्य हुनुपर्ने बताइएको थियो। यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने उनीहरुको भनाइ छ।

    होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन् भन्ने मान्यतालाई अनुसरण गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरेको जानकारी दिए। पर्यटनको माध्यमबाट सातै प्रदेश जोड्ने उदेश्यले अभियानको प्रचारको लागि देशका विभिन्न ठाउँमा पुगेको उनले बताए।

    कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले पर्यटन प्रवद्र्धनको लागि रुपन्देही र पोखराका व्यवसायी संगसँगै अघि बढ्ने बताए। उनले भारतीय पर्यटकहरुलाई सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे। हानका अर्का केन्द्रीय सदस्य गोपाल रानाले लुम्बिनी र पोखरा देशका अपार सम्पत्ती भएको भन्दै सरकारले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आँफू कास्कीको सिडियो हुँदा पोखराको लेकसाइडलाई २४ घण्टा खुलाउने पहल गरेको जानकारी दिए। हानका केन्द्रीय सदस्य एबं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे।

    कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष महेन्द्र श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले बोल्दै पोखरा र लुम्बिनीको पर्यटनलाई संगसँगै अघि बढाउनुपर्ने बताएका थिए। कार्यक्रममा ब्यबसायी र संचारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए। उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन भएको हो।