
बुटवल– कुनै बेला गाउँमा एसएलसी पास गरेपछि प्रविणता प्रमाणपत्र तह अर्थात आइए पढ्न बुटवल आउनुपर्दथ्यो । रुपन्देहीका साथै नवलपरासी र कपिलबस्तु जिल्लाबाट क्याम्पस पढ्न भन्दै बुटवल आउने गर्दथे । त्यस्तै गुल्मी, अर्घाखाँची पाल्पा, स्याङजा, पर्वत, बाग्लुङ लगायतका जिल्लाबाट पनि अध्ययनकै लागि बुटवल झने क्रम सुरु भएको थियो ।
२०३० सालमा बुटवल बहुमुखी क्याम्पस स्थापना भयो। त्यसबेलादेखी बुटवल शैक्षिक केन्द्रको रुपमा चिनिन सुरु गर्यो । बहुमुखी क्याम्पसमा मानविकी र शिक्षा शास्त्र संकायमा विभिन्न विषयमा पढाइ हुन्थ्यो । त्यस्तै कानून र विज्ञान संकायमा पनि अध्ययन अध्यापन हुन्थ्यो । बुटवल बहुमुखीमा हालका क्याम्पस प्रमुख अरुण क्षेत्री विगतमा सोही क्याम्पसमा शिक्षा शास्त्र संकायका पहिलो व्याचका विद्यार्थी हुन् । ‘त्यसबेला शिक्षा शास्त्र तर्फ विद्यार्थीको आकर्षण हुन्थ्यो । बीएडमा मात्र एकैपटक १८ सय १९ सय विद्यार्थी भर्ना हुन्थे । ६० को दशकको सुरुवात सम्म पनि आइएड, बीएड पढ्ने लहर चलेको थियो ।’ उनले भने ‘विभिन्न जिल्लाबाट क्याम्पसमा पढ्न आउने गर्दथे ।’ त्यसबेला प्रविणता प्रमाणपत्र तहमा विद्यार्थीको चाप हुने क्याम्पस प्रमुख क्षेत्रीको भनाइ छ ।
पछि प्रविणता प्रमाणपत्र तह फेज आउट भएर ११ र १२ कायम भयो । अहिले बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय पनि थप भएको छ । यतीबेला व्यवस्थापन र कानून तर्फ एल एलबी पढ्ने विद्यार्थीको आकर्षण छ । विगतमा बाहिरि जिल्लाका विद्यार्थी धेरै हुन्थे । ‘अहिले बुटवलकै नाम चलेका नीजि विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकाहरु पनि बहुमुखी क्याम्पसमा पढ्न आउने गरेका छन् ।’ क्याम्पस प्रमुख क्षेत्रिले भने।
२०३८ सालमा लुम्बिनी बाणिज्य क्याम्पस स्थापना भयो । त्यसपछि बुटवलमा बाणिज्य संकायको पढाइ सुरु भयो । सामुदायीक स्तरमै सिद्धार्थ गौतम बुद्ध क्याम्पस र बुटवल कालिका क्याम्पस स्थापना भएपछि नगर र जिल्ला बाहिरबाट थप विद्यार्थी बुटवलमा आकर्षित हुन थाले । नीजि स्तरमा पनि बुटवलमा थुपै क्याम्पसहरु सञ्चालनमा छन् । बुटवलमा उच्च शिक्षा अध्ययनको लागि ४० किलोमिटर टाढाबाट समेत कतिपय दैनिक आइजाइ गर्दछन् । अधिकांस पढ्नकै लागि अस्थायी रुपमा डेरा लिएर बुटवलमा बस्ने गरेका छन् ।
उच्च शिक्षा मात्र नभई विद्यालय तहको शिक्षाको लागि पनि बुटवल आकर्षणको केन्द्र बनेको छ । यहाँका सामुदायीक तथा निजी दुबै खालका विद्यालयले एसएलसी तथा एसइइ परिक्षमा देशमै उत्कृष्ठ नतिजा ल्याएका छन् । बुटवलको कालिका मानवज्ञान मावि देशमै सबै भन्दा बढि विद्यार्थी भएको विद्यालय हो । यहाँ सिसु कक्षादेखी १२ कक्षा सम्म ८ हजार विद्यार्थी रहेका छन् । उत्कृष्ठ नतिजाको कारण कालिका मानवज्ञानमा विद्यार्थीको चाँप भएको हो । शैक्षिक सत्रको सुरुवातमा कालिकामा बालबालिकालाई भर्ना गर्न निकै गाह्रो हुने गर्दछ ।
त्यस्तै कान्ती मावि, नविन औद्योगिक कद्दरबहादुर रिता माविमा पनि उत्कृष्ठ नतिजाका कारण विद्यार्थीहरुको संख्या बढि छ । यी विद्यालयमा रुपन्देही सहित नवलपरासी र कपिलबस्तुका विद्यार्थी पढ्न आउने गरेका छन् । ११ र १२ मा विज्ञान र अरु प्राविधिक विषय अध्ययनको लागि अरु जिल्लाबाट समेत विद्यार्थीहरु आउने गरेका छन् । बुटवलको होराइजन पनि देशमै नाम चलेको नीजि विद्यालय हो । एभरेष्ट मावि, दीप बोडिङ हाइ स्कुल, अक्स्फोर्ड धेरै विद्यार्थी भएका नीजि विद्यालय हुन् ।
बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रको लागि नीति कार्यक्रम तथा बजेट मार्फत विशेष ध्यान दिएको जनाएको छ । चालु आर्थिक वर्षमा कुल आर्थिक वर्ष २६ प्रतिसत बजेट शिक्षाको लागि छुट्याएको नगरप्रमुख खेलराज पाण्डेले बताएका छन् । कालिका, कान्ती जस्तै बुटवलका अरु सामुदायीक विद्यालयलाई पनि अब्बल बनाउने गरि लगानी गरेको उनले जानकारी दिए । प्राविधिक शिक्षा तर्फ बुटवल टेक्नीकल इन्स्च्युट बीटीआइको स्तरोन्नतीको काम अघि बढेको छ । बीटीआइमा छोरी पढाउ कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाको छात्रवृत्तीमा ४० जना छात्राले निशुल्क अध्ययन गर्नेछन् । उपमहानगरपालिकाले ‘शिक्षामा सबल, बुटवल अब्बल’ भन्ने नारा अघि सारेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि शिक्षाका विभिन्न योजना अघि सारिएको छ । नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरि विद्यालयको शैक्षिक तथा भौतिक अवस्थालाई बृद्धि गर्ने उपमहानगरपालिकाले जनाएको छ । बुटवलबाट उत्पादीत जनशक्तीलाई अन्तर्राष्ट्रिय बजारमा समेत खपत हुनसक्ने गरि सक्षम बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरप्रमुख शैक्षिक सुधार कोषको स्थापना गरि विपन्न वर्गका बालबालिकाको लागि छात्रवृत्ती, पोशाक तथा शैक्षिक सामाग्री उपलब्ध गराइने उपमहानगरपालिकाले जनाएको छ ।
उच्च शिक्षा तर्फ बीटीआइमा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु अध्यन गराइने र बुटवल अटो इन्जिनियरिङ कलेज सञ्चालन गरि अटो इन्जिनियरिङमा स्नातक तह सञ्चालन गर्न आवश्यक नीति तय गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए । सबै सामुदायीक विद्यालयहरुलाई पूर्ण र प्रविधियुक्त बनाउन प्रविधि मार्फत डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षको प्रयोगलाई विशेष जोड दिने उपमहानगरपालिकाले नीति अघि सारेको छ । सामुदायीक तथा नीजि विद्यालय र क्याम्पसहरुले ल्याएको उत्कृष्ठ नतिजा र विद्यार्थीको आकर्षणको कारण बुटवल शिक्षाको दृष्टीकोणबाट पनि बस्नयोग्य शहरको रुपमा स्थापित भएको छ ।

