२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • बुटवलमा थपिँदै स्तरिय र सुविधा सम्पन्न होटल

    बुटवल-बुटवल विगतदेखी नै व्यापारीक तथा यातायातको केन्द्र थियो । अहिलेको ट्राफिक चोक भन्दा पूर्व पट्टी त्यसबेला बसपार्क थियो । बसपार्क भएको ठाउँमा लहरै छाप्राहरु थिए । ति छाप्रामा होटलहरु थिए । त्यस्तै अहिलेको बीपी चोक भएको ठाउँमा मिनी बसपार्क थियो यहाँ पनि केही छाप्रामा होटलहरु थिए । छाप्रामा भएका यी होटलहरुमा व्यवस्थीत कोठाहरु भने थिएनन् । खाना खाने र सुत्ने विस्ताराको व्यवस्था मात्र थियो ।

    त्यसबेला भारततिर नोकरी गर्न जाने प्रचलन बढि थियो । भारत जाने र आउने क्रममा लाहुरेहरु बुटवलका यीनै छाप्रासहितका होटलमा बास बस्ने गर्दथे । त्यस्तै काम विशेषले पहाडी जिल्लाबाट झरेका र अन्य ठाउँबाट बुटवल आएकाहरुको लागि पनि खाने बस्ने यीनै ठाउँ हुन् । २०४५ सालको आसपासबाट मात्र कोठाको व्यवस्थासहितको होटल तथा लज स्थापना भएको पुराना होटल व्यवसायी माधव नेपाल बताउँछन् । ‘त्यतीखेर मेरो होटलको एउटा कोठा मात्र एटेच बाथरुम थियो । अरु सामान्य कोठा थिए ।’ उनले भने ‘बुटवलका अरु एक दुई वटा होटलमा मात्र केही एटेच कोठा थिए । अहिले त एटेच नभई मान्छे बस्दैनन् ।’

    बुटवलको न्यु इरा होटलका सञ्चालक समेत रहेका माधव नेपालले २०३८ सालबाट बुटवलमा होटल व्यवसाय थालेका हुन् । ४० को दशकमा लक्ष्मी नौलो होटल, सिन्दुर होटल, आमा होटल भन्ने त्यसबेलाका नाम चलेका होटल थिए । पछि नेपालगञ्ज रोड स्थित अहिले कृषि उपज संकलन केन्द्रमा बसपार्क स्थापना भयो । त्यसपछि यो ठाउँ तिर होटल व्यवसाय खुले । होटल व्यवसायी महासंघ लुम्बिनीका अध्यक्ष महेन्द्र श्रेष्ठले टिनका टहरामा होटलहरु भएको सम्झिन्छन् । ‘अहिले मण्डी भएको ठाउँमा बसपार्क थियो । बसपार्कमा टिनका छानामा होटलहरु थिए । होटलमा माटाका चुलाहरु थिए ।’ उनले भने ‘कोठा सहित लजको संख्या १५–२० वटा थियो । त्यसमा एचेटबाथरुम सहितको कोठा निकै कम थियो ।’

    अहिलेको लुम्बिनी बस टर्मीनल बनेपछि होटलहरु इट्टा भट्टी, मिलन चोक आसपास खुल्न थाले । पछिल्लो समय होटलहरु बसपार्क आसपासमा मात्र सिमित छैन । योगीकुटीदेखी चिडियाखोलासम्म र रामनगरदेखी तामनगरसम्म लस्करै जसो होटल तथा लजहरु खुलेका छन् । २०६३ मा मुलुक १० वर्षे द्वन्दबाट शान्तिप्रक्रियामा आएपछि बुटवलमा पनि होटल व्यवसाय खुल्ने क्रम तिब्र भएको महासंघका प्रदेश अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    अहिले होटलका सबै जसो कोठाहरु एटेज छन् । अधिकांस एसी सहितका डिलक्स कोठा छन् । केही तारे होटल पनि बुटवलमा सञ्चालनमा आएका छन् । योगीकुटीमा रहेको डा फ्लेमिङ्गो चार तारे होटल हो । इटाभट्टीको ड्रिम इन्टरनेश्नलले दुई तारेको इजाजत लिएको छ । मिलनचोकमै रहेको स्तरिय होटल पाम इन्टरनेश्नल १० तला अग्लो भवनमा छ । यस्तै अरु पर्यटक स्तरिय सुविधासम्पन्न होटलहरु छन् । बुटवल मण्डप अगाडी ५ तारे होटल निर्माण भइरहेको छ ।

    यस्तै बुटवलको कालिकापथमा लस्करै स्तरिय होटल तथा रेष्टुरेन्ट खुलेका छन् । होटल हब बन्न लागेको कालिकापथलाई रात्रिकालिन बजारको रुपमा अघि बढाउने योजना पनि छ ।

    होटल तथा रेष्टुरेन्ट व्यवसवायी संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष माधव खनालले संघमा १२ बढि व्यवसायी आबद्ध छन् । जसमा कोठाको व्यवस्था सहित ६ सय भन्दा बढि होटल छन् । जसमा बुटवल उपमहानगरपालिकामा मात्र साढे ३ सय बढि कोठाको व्यवस्था सहितका होटल रहेका छन् । पर्यटन प्रवद्र्धनमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ ।

    बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनको लागि अघि बढ्न होटल व्यवसायीहरुलाई आग्रह गरेको छ । केही दिन अगाडी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अधिवेसनको उद्घाटनको क्रममा बुटवलका नगरप्रमुख खेलराज पाण्डेले बुटवलबाट अरु पर्यटकीय गन्तव्यको लागि टुर प्याकेजका कार्यक्रम ल्याउन अग्रह गरे । उनले होटल व्यवसायी र यातायात व्यवसायीहरु मिलेर टुर प्याकेज बनाएमा उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताए । पाण्डेले बुटवलबाट प्रदेशका विभिन्न पहाडी जिल्लाका साथै मुक्तिनाथ सम्मको प्याकेज बनाउनुपर्ने उल्लेख गरे ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष माधवकुमार खनालले बुटवलबाट विभिन्न ठाउँको लागि प्याकेज बनाएर अघि बढ्ने कुरामा संघले प्राथमिकता दिएको जानकारी दिए । गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान सम्मको भ्रमणको लागि प्याकेज बनाएर अघि बढ्छौं । त्यसको लागि हामीले तीन चार दिनसम्मको प्याकेज बनाएर प्रचार प्रसार गर्छौं । उनले भने । आएका पहुनाहरुलाई बुटवल र आसपासका ठाउँ घुमाएर, प्याकेज अनुसारका ठाउँमा पुर्याउँछौं । नवनिर्वाचित अध्यक्ष खनालले बुटवलमा भारतीय पर्यटक भित्राउन पनि पहल गर्ने बताए । त्यसको लागि संघको टोली भारतसम्म पुगेर प्रचार प्रसार गर्ने जानकारी दिए ।

    उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । त्यसको लागि नीति क्षेत्रसँग मिलेर अघि बढ्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउँदै आएका छन् । बुटवल र आसपासमा विभिन्न पर्यटकीय गन्तव्यहरु छन् । नेपालले अंग्रेजलाई पराजित गरेको जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, बटौली क्षेत्र, रामापिथेकस पार्क, लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार, हिलपार्क लगायतका पर्यटकीय गन्तव्यहरु यहाँ रहेका छन् । यी ठाउँहरुको प्रचार प्रसार र प्रवद्र्धन गर्न सकेमा बुटवलका होटलमा पर्यटक तथा पाहुनाहरुको बसाइ पनि लम्बीने गर्दछ ।

    भारतीय पर्यटकहरुलाई मुक्तीनाथ सम्म पुर्याउन र चिनिया पर्यटकलाई कोरोला नाका हुँदै लुम्बिनी सम्म ल्याउने अभियानको बुटवल उपमहानगरपालिकाले नेतृत्व गर्ने योजना बनाएको छ । यो अभियानले सार्थकता पाएमा बुटवलका होटलहरु पनि चलायमान हुने छन्। त्यस्तै भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आएमा बुटवल विदेश जाने र आउनेहरुको बसाइको केन्द्र पनि बन्ने छ । त्यसो भएमा यहाँका होटल व्यवसाय पनि राम्रो फस्टाउने सम्भावना देखिन्छ ।