
भैरहवा -लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत बीएचटीएमका विद्यार्थीहरुले मौलिक संस्कृती तथा खाना प्रदर्शन गरेका छन्। सिद्धार्थ एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालीटी म्यानेजमेन्ट प्रा.ली. साथमका विद्यार्थीहरुले भैरहवाको सिद्धार्थ भिलासा होटलमा खाना प्रदर्शन गरेका हुन्। मौलिक तथा सस्कृति झल्कने खाना प्रदर्शन गरेका थिए।
साथमकी बीएचटीएम शैक्षिक कार्यक्रम संयोजक सिर्जना वाग्लेले विद्याथीहरुलाई शैक्षिकसँगै प्रयोगात्मक अभ्यास पनि गराइएको बताइन्। प्रयोगात्मक अन्तर्गत मौलिक परिकार तयार गरि प्रदर्शन गरेको उनले उल्लेख गरिन्। गुरु पूर्णिमाको अवसरमा शिक्षकहरुको सम्मानमा आफूहरुले मौलिक खाना तयार गरेको बीएचटीएमका पहिलो व्याचका विद्यार्थीहरुले बताए। जातिय पोशाक सहित मौलिक खानाका परिकार तयार गरि उनीहरुले शिक्षकहरुलाई खुवाएका थिए।

कार्यक्रममा विद्यार्थी सुमित पौडेलले खिर, अचार, आँपको मुरब्बा लगायतका परिकार तयार गरेका थिए। गुरुपूर्णिमाको अवसरमा गुरुहरुको सम्मानको लागि आ–आफ्नो संस्कृती झल्काउनको लागि खाना प्रदर्शन गरेको विद्यार्थी उनले बताए। अभिशेक मौर्यले तराई मधेश झल्काउने खालका खाना तयार गरेका थिए। अर्की विद्यार्थी सन्जना बस्यालले नेवारी पहिरनमा सजिएर खानाका परिकार तयार गरेकी थिइन्। लक्ष्मण बुढाथोकीले मगर संस्कृती अन्तर्गत खाना तयार गरेका थिए। कृष्ण चौधरीले थारु पहिरन सहित परिकार प्रस्तुत गरेका थिए।
खाना प्रदर्शनमा सहभागी सिद्धार्थ भिलासा होटलका महाप्रबन्धक अरुणकुमार पुरीले विद्यार्थीहरुले ज्ञानसँगै आफ्नो क्षमता समेत प्रदर्शन गरेको बताए। सिद्धार्थ हस्पिटालिटी अफ गु्रपले अन्तर्गतको साथमले लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा बीएचटीम शैक्षिक कार्यक्रम सञ्चालन गरेको हो। यो कार्यक्रमले नेपालमा दक्ष जनशक्ती उत्पादनमा सघाउ पुग्ने उनको भनाइ छ।

कार्यक्रममा साइ ग्लोबल एकेडेमीका प्रिन्सीपल लक्ष्मण ज्ञवालीले विद्यार्थीहरुले बनाएका विभिन्न परिकारहरुको स्वाद लिन पाएको सुनाए। साथमका निर्देशक निश्चल श्रेष्ठले अध्ययनसँगै जागिर पनि दिने गरि ४ वर्षे बीएचटीएम शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताए। जस अन्तर्गत विद्यार्थीहरुले पढ्दै ५ तारे होटलमा काम गर्ने अवसर पाएको उनको भनाइ छ। बीएचटीएम पढाइमा लाग्ने शुल्क विद्यार्थीहरुले पढाइसँगै काम गरेरै कमाउन सक्ने श्रेष्ठले उल्लेख गरे।


