२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • सिद्धार्थ गौतमले दरबार त्यागेको सम्झनामा तिलौराकोटमा मनाइयो महाभिनिष्क्रमण


    कपिलवस्तु-गौतम बुद्धले परिवार र राजकीय सम्बन्ध परित्याग गरेको सम्झनामा कपिलवस्तुको तिलौराकोटमा महाअभिनिष्कर्मण मनाइएको छ। शाक्यबशी राजा शुद्धोधनका छोरा शिद्धार्थ गौतमले २९ वर्षको उमेरमा गुरुपुर्णिमाको दिन तिलौराकोट दरबारको पूर्वी गेटबाट बाहिरिँदै ज्ञान प्राप्तीको महायात्रामा लागेको थिए।

    सो दिनको सम्झनामा महाअभिनिष्कर्मण मनाइएको हो। गच्छामी मिडिया ग्रुप र बुद्धिष्ट सर्किटको आयोजना तथा लुम्बिनी विकास कोष, रेडियो टुरिजम लगायतको सहयोगमा कार्यक्रम भएको हो। जसअन्तर्गत विहिवार मध्यरातमा कन्थक घोँडामा सवार भइ सिद्धार्थ गौतमले गृह त्याग गरेको झलक देखाइएको थियो।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानु राजा शाक्य र पत्रकार किरणमान ब्रज्रचार्यलाई साङ्केतिक रूपमा राजकुमार सिद्धार्थको रूपमा घोडामा चढाएर राजप्रसादको पूर्वी ढोकाबाट बाहिरिएका थिए। त्यस अघि आयोजितकार्यक्रममा सहभागीहरुले बुद्धले २९ वर्ष विताएको तिलौराकोट महत्वपूर्ण ठाउँ भएर पनि ओझेलमा परेको बताए। उनीहरुले कपिलबस्तुमा महाअभिनिष्कर्मण जस्तै बुद्धसँग सम्बन्धीत गतिविधिहरु भइरहनु पर्ने धारणा राखे।

    कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्ध ज्ञानको खोजिमा निस्कीएको यो दिन महत्वपूर्ण भएको बताए। अहिले गच्छामी मिडिया गु्रपले मनाइरहेको यो पर्व अब कोषले मनाउने जानकारी दिए।

    कपिलबस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले गौतम बुद्धले ज्ञानको खोजीमा गृहत्याग गरेको महत्वपूर्ण दिन भएको भन्दै नगरपालिकाले बुद्धसँग सम्बन्धीत अन्य विभिन्न उत्सव मनाउने जानकारी दिए। उनले कपिलवस्तु नगरपालिका सहित देवदह नगरपालिकाको सहकार्यमा आगामी आर्थिक वर्षमा सिद्धार्थ गौतमको विवाह उत्सव समेत मनाउन बजेट छुटाएको बताए।

    लुम्बिनी विकास कोषको सदभावना दुत तथा महापरिष्निर्माणका परिकल्पनाकार विक्रम पाँडेकाजीले बुद्धले २९ वर्ष विताएको ठाउँ विश्वभरका बुद्ध धर्मलम्बीले हेर्न चाहेको बताए। त्यसको लागि कपिलबस्तुमा बुद्धसँग गतिविधिहरु भइरहनुपर्ने धारणा राखे। कपिलवस्तु ३ का वडाध्यक्ष प्रकाश गैरेले कपिलवस्तुको विकासको लागि राज्यले ध्यान नदिएको उल्लेख गर्नुभयो।
    लुम्बिनी विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव आचार्यले यस्ता पर्वले कपिबस्तुको पहिचान उजागर गर्न सघाउ पुग्ने धारणा राख्नुभयो।

    गच्छामी मिडिया ग्रुपका सञ्चालक मनोज पौडेलले तिलौराकोटसँगै कपिलबस्तुका बुद्धस्थलहरुको प्रवद्र्धनको लागि ग्रुप निरन्तर सक्रिय रहँदै आएको बताए। ग्रुपका सचिव खगप्रसाद चापागाँइले कपिलबस्तु गुरु पूर्णीमाको यो कार्यक्रमले कपिलबस्तुको पहिचान थप उजागर गर्न यो कार्यक्रम गरिएको जानकारी दिए। सन् २०१९ देखि सुरु भएको महाभिनिष्क्रमण दिवसलाई अपनत्व लिने गरी सदभावना दूत पाँणेकाजीले सदस्य सचिव शाक्यलाई पत्र हस्तान्तरण गरेका थिए ।