२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

    कपिलवस्तु-तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल भएको छ। फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४७ औँ सत्रमा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा भएको अन्तिम छलफलमा अस्विकृत हुन पुगेको हो।

    शाक्यवंशी राजा शुद्धोधनको राजधानी रहेको ऐतिहासिक स्थल तिलौराकोट गौतम बुद्धले २९ वर्ष विताएको ठाउँ हो।
    छलफल अघि नै युनेस्कोको प्राविधिक सल्लाहकार संस्था ‘इकोमस’ (स्मारक तथा स्थलहरूको अन्तर्राष्ट्रिय परिषद्) ले ‘डिफर’ (स्थगन) सिफारिस गरेकोले अहिले सूचिकृत हुने अवस्था कम भएको थियो। तर बैठकमा यसको सम्बोधन हुने झिनो आशा गरिए पनि त्यो पूरा भएन। तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्न ३ वर्षदेखी अथक प्रयास गरिएको थियो।

    लुम्बिनी विकास कोषमा सदस्यसचिव शानुराजा शाक्यका अनुसार इकोमसको ‘डिफर’ सिफारिस भनेको प्रस्तावित विषयलाई तत्काल निर्णय नगरी पछि सार्ने हो, जसले प्रक्रियामा अन्योल थपिन्छ। युनेस्कोले प्रायः निर्णय इकोमसकै सिफारिसमा आधारित भएर गर्ने भएकाले तत्काल सूचीमा सूचीकृत हुने सम्भावना थिएन। बैठकले त्यसलाई नहुने निश्चित गरेको उनले बताए।

    तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरा सूचीमा नराख्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामासहितको उच्चस्तरीय सरकारी टोली पेरिस पुगेको थियो।