२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पुनः प्रस्ताव गर्छौ : मन्त्री पाण्डे


    काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने जानकारी दिएका छन्। बुधबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले युनेस्कोको आगामी ४८ औँ वर्ल्ड हेरिटेज कमिटीको बैठकमा तिलौराकोटको प्रस्ताव पुनः प्रस्तुत गरिने बताए।

    यसअघि ४७ औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने नेपाल सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन नसकेको पाण्डेको भनाइ छ। उनले भने, “भारतले प्रस्तावित स्थलका सम्बन्धमा ३३ बुँदे असहमति राखेको थियो, जसका कारण प्रक्रिया जटिल भयो। तर नेपालसँग तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्ने पर्याप्त प्रमाणहरू छन्, अब समस्या आउँदैन।”

    त्यसैगरी, मन्त्री पाण्डेले लुम्बिनीलाई युनेस्कोको ‘खतरा सूची’मा पर्न नदिन भारतले सहयोग पुर्‍याएको तथ्य समेत सार्वजनिक गरे। यद्यपि, लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको उल्लेख गर्दै उनले केही सुधारात्मक कामहरू अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे।