२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी


    काठमाडौं – विश्‍वसामु नेपालको पर्यटन प्रबर्दधन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । यस अन्तर्गत #LifetimeExperiences नामक विशेष अभियान सुरु गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ।

    समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रबर्द्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताएका छन्। ‘यो केवल एउटा सम्झौतामात्र होइन, यो नेपाललाई संसारसँग जोड्ने पुल हो । टिकटक जस्तो विश्वव्यापी प्लेटफर्ममार्फत हामीले नेपालको हिमाल, संस्कृति, उत्सव र आतिथ्यलाई करोडौं दर्शकमाझ पुर्‍याउने अवसर पाएका छौं।’ उनले भने ‘यो अभियानले नेपाललाई विश्‍वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्नेछ ।’ मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डको रुपमा उल्लेख गर्दै यो सहकार्यले ग्रामीण भेगका समुदाय, साना व्यवसायी र स्थानीय गाइडहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरे।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले महत्वपूर्ण समझदारी भएको उल्लेख गर्दै भने ‘नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पुर्‍याउने हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ। यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवाहरूलाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढंगले अभिव्यक्त गर्ने अवसर दिनेछ।’

    सीईओ जोशीका अनुसार बोर्डले अन्तर्राष्ट्रिय स्तरका ट्राभल क्रियेटरलाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ग्रामीण होमस्टेसम्म पुर्‍याउनेछ । उनीहरूले छोटा भिडियोमार्फत नेपालको पर्यटकीय गन्तव्यबारे डिजिटल संसारमार्फत् प्रचारप्रसार गर्ने सीईओ जोशीले बताए।

    साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत् नेपालका कथाहरु सुनाउने विषयमा कार्यशाला गर्नेछ। जसमा नेपाली कन्टेन्ट क्रियेटरलाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ।