२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • लुम्बिनीको पर्यटक आगमन ६ वर्षअघिकै लयमा फर्काउने अवसर

    नारायणगढ-बुटवल यात्रा सहज बन्दैछ भन्ने सन्देशसहित लुम्बिनीको प्रचार गरौं


    सुदीप भण्डारी

    केही महिना अघिसम्म नारायण्गढबाट बुटवलसम्मको यात्रा निकै कष्टकर थियो। २०७५ साल चैतमा राजमार्ग विस्तारको शिलान्यास भइ काम सुरु भयो। तर समयमा विस्तारको काम नसकिँदा यात्रुहरुले सास्ती पाइरहेका थिए। राजमार्ग अस्तव्यस्त हुँदा त्यसको प्रत्यक्ष असर लुम्बिनीको पर्यटनमा पनि परेको छ।

    कोरोनाका कारण २ वर्ष लुम्बिनीको पर्यटक क्षेत्र थला परेको थियो। कोरोनाको प्रभाव हटेको लामो समय भइसक्दा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा ६ वर्ष अघिको जस्तो चहलपहल देखिएको छैन। नारायणगढबाट बुटवलसम्मको यात्रा कष्टकर हुँदा लुम्बिनीको पर्यटन लयमा फर्किन नसकेको हो।

    कोभिड अघि सन् २०१९ मा आन्तरिक र विदेशी गरि १५ लाख ५८ हजार ३२६ पर्यटक बुद्ध जन्मस्थल लुम्बिनीमा आएका थिए। गत वर्ष सन् २०२४ मा कुल ११ लाख ७२ हजार २८२ पर्यटकले लुम्बिनीको भ्रमण गरे। कोभिड अघिको तुलनामा भारतीय पर्यटक बढे तर आन्तरिक र तेस्रो मुलुकका पर्यटकको आगमनमा भने सुधार आउन सकेन।

    कोभिड अघि सन् २०१९ मा आन्तरिक पर्यटकको आगमन ११ लाख ७८ हजार १४० जना थियो। ५ वर्षपछि सन् २०२४ मा ७ लाख ५९ हजार ९९० जना मात्र नेपालभित्रबाट लुम्बिनी घुम्न आए। सन् २०१९ मा भारत बाहेक तेस्रो मुलुकबाट १ लाख ७४ हजार १५ जना विदेशी पर्यटक लुम्बिनी आएका थिए। गत २०२४ मा १ लाख ११ हजार ४०३ विदेशी पर्यटकले बुद्ध जन्मस्थलको भ्रमण गरे।

    ५ वर्षअघिको तुलनामा २०२४ मा आन्तरिक पर्यटक ४ लाख र विदेशी पर्यटक ६३ हजार कम पर्यटक लुम्बिनी आएका छन्। यसरी कम हुनुमा राजमार्गको दुरावस्था नै मुख्य मानिएको छ।

    नारायणगढबाट बुटवलसम्मको यात्रा गर्न साढे २ घण्टा लाग्ने गर्दछ। तर सडक विस्तार भइरहँदा ६–७ घण्टा भन्दा बढि लागेको थियो। पट्यारलाग्दो यात्रा भएपछि अत्यावश्यक काम बाहेक धेरैजसो यो बाटो भएर पश्चिम तर्फ आउन खोजेनन्। अहिले बुटवल नारायणगढ सडकको यात्रा तुलनात्मक रुपमा धेरै सहज भएको छ। ४ लेन सडकमा धेरै जसो ठाउँमा दुई लेन कालोपत्रे भइसकेको छ। दाउन्ने खण्ड बाहेकको अरु ठाउँमा सहज र सरर यात्रा गर्न सकिन्छ। दाउन्ने खण्ड पनि विस्तारै सहज बन्दैछ।

    बर्षा सकिएर पर्यटनको सिजन पनि सुरु हुँदै छ। असोजदेखि बैशाखसम्म लुम्बिनीमा पर्यटक आगमनको सिजन हो। त्यसैले अब नारायणगढ-बुटवल सडकको यात्रा सहज भएको सन्देससहित लुम्बिनीमा पर्यटक आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ। पर्यटक आगमनमा ६ वर्ष अघिको लय फर्काउन सरकारी र नीजि क्षेत्रले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ।

    लुम्बिनी विकास कोष
    बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनको लय फर्काउन लुम्बिनी विकास कोषले अगुवायी गरेर तत्काल काम अघि बढाउनुपर्छ। सुरुमा लुम्बिनी विकास कोषले पर्यटनसँग सम्बद्ध अरु निकाय र संघ संस्थालाई बोलाएर छलफल गर्नुपर्छ। त्यसमा होटल व्यवसायी, ट्राभल तथा टुर व्यवसायी, उद्योग बाणिज्य संघ, पर्यटन सम्बन्धी विज्ञ, लुम्बिनी सांस्कृतिक सहित बुद्ध परिपथका पालिकाहरुसँग निष्कर्ष निस्कने गरि छलफल गर्नुपर्छ। छलफलले पर्यटक आगमन बढाउनको लागि ठोस् निर्णय सहित कार्यतालिका बनाउनुपर्छ। साथै यसमा होटल व्यवसायीको भूमिका, ट्राभल तथा टुर व्यवसायीहरुले गर्ने काम, स्थानिय तहहरुले गर्नुपर्ने कामहरुको सूची बनाउनुपर्छ। यो सिजनमा लुम्बिनीको लागि कुन समयमा कुन संस्था वा निकायले के काम गर्ने र त्यसमा कोषले कसरी सहकार्य गर्ने भन्ने स्पष्ट उल्लेख हुनुपर्छ।

    होटल व्यवसायीहरु
    बुद्ध जन्मस्थल लुम्बिनी आएका पर्यटकको स्वागत र सत्कारको मुख्य भूमिका होटल व्यवसायीहरुकै हुनेछ। कोभिड र राजमार्ग अस्तव्यस्त भइ पर्यटक आगमनमा कमि आउँदा होटल व्यवसायीहरुलाई नै सबै भन्दा बढि नोक्सान पुगेको छ।
    त्यसैले अब राजमार्गको यात्रा सहज भएको सन्देश दिन र लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित होटल व्यवसायीहरु अघि सर्नैपर्दछ। लुम्बिनी होटल संघ, सिद्धार्थ होटल एशोसिएन सान लगायतले पर्यटक आकर्षित गर्न विभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नुपर्छ। प्याकेजसहितको अभियान र कार्यक्रम लिएर होटल व्यवसायीहरु काठमाडौ सहित देशका विभिन्न शहरहरुमा पुग्नुपर्दछ।

    ट्राभल तथा टुर व्यवसायी
    बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसार र प्रवद्र्धनमा ट्राभल तथा टुर व्यवसायीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ। ट्राभल व्यवसायीहरुले लुम्बिनीलाई केन्द्रीत गरेर टुर प्याकेज बनाउनुपर्छ। प्याकेज लिएर ट्राभल व्यवसायीहरु पनि देशका विभिन्न शहर, बुद्धिष्ट मुलुक र अरु देशमा समेत पुग्नुपर्छ। ट्राभल व्यवसायी र होटल व्यवसायीहरु मिलेर पर्यटक आकर्षित गर्ने कार्यक्रम गर्न पनि सकिन्छ।

    बुद्ध परिपथका पालिका
    बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय वातावरण निर्माण गर्ने भूमिका लुम्बिनी सांस्कृतिक नगरपालिकाको पनि हो। नगरपालिकाले आएका पर्यटकहरुलाई सहज वातावरण निर्माण गरिदिने, प्रभावकारी सूचना केन्द्रको व्यवस्था गर्ने, गाइडबुकहरु तयार गर्ने लगायतका काम गर्नुपर्छ। लुम्बिनीको प्रचार प्रसारमा पनि नगरपालिकाको भूमिका महत्वपूर्ण हुन्छ।
    लुम्बिनी सांस्कृतिक बाहेक बुद्धसँग सम्बन्धी ठाउँहरु भएका रामग्राम नगरपालिका, देवदह नगरपालिका र कपिलबस्तु नगरपालिकाले पनि आफ्नो ठाउँका बुद्धस्थलसँगै लुम्बिनीको प्रचार प्रसार गर्नुपर्छ। जस्तै रामग्राम नगरपालिकाले स्तुपा र लुम्बिनीलाई जोडेर प्रवद्र्धनको कार्यक्रम गर्नुपर्छ। कपिलबस्तुले तिलौराकोटमा पर्यटक आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ। देवदहले पनि बुद्धको मावली क्षेत्रमा पर्यटकहरु ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ। सम्बन्धीत पालिकाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्दा लुम्बिनीको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्छ।

    लुम्बिनी प्रदेश सरकार
    बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको पहिचान हो। त्यसैले लुम्बिनीको विकास र प्रवद्र्धनको लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्छ। प्रदेश सरकारले यो सिजनमा एक दुई वटा अन्तर्राष्ट्रिय कार्यक्रमहरु गर्नुपर्छ। प्रचार प्रसारको लागि प्रदेश सरकारले पनि प्रवद्र्धनको अभियानहरु सञ्चालन गर्नुपर्छ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान
    भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडान नियमित भएमा लुम्बिनीको पर्यटनमा ठूलो फाइदा हुने छ। अर्बौंको संरचना निर्माण भएपछि यो उपयोगमा आउनैपर्छ। जसरी हुन्छ भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने वातावरण बन्नुपर्छ। आगामी कात्र्तिकबाट थाइ एयर एशियाले भैरहवामा पुन उडान थाल्दैछ। जजिरा एयरवेजले पनि उडान गर्ने चर्चा छ। यी उडान सुरु भएमा भैरहवाको अन्तर्राष्ट्रिय उडान र लुम्बिनीको प्रचार प्रसार सँगसँगै गर्नुपर्छ। त्यसको लागि प्याकेज लिएर बुद्धिष्ट मुलुकहरुमा पुग्नुपर्छ। भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भएमा लुम्बिनीमा आन्तरिकसँगै विदेशी पर्यटकको आगमन पनि बढ्ने छ।

    यसरी लुम्बिनीको प्रचार प्रसार र प्रवद्र्धनको तालिकासहित ठोस योजना बन्यो भने कोभिड अघि अर्थात २०१९ को भन्दा पनि धेरै पर्यटक लुम्बिनीमा आकर्षित गर्न सकिन्छ।