२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • टानको ४७औं साधारणसभा सम्पन्न, कटौती गरिएको टिम्स शुल्क फुकुवा गरिदिन माग

    व्यवसायीको सुरक्षा र प्रोत्साहनका लागि सरकार तत्परः उपप्रधानमन्त्री पौडेल

    काठमाडौं -ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको महत्वपूर्ण योगदान रहेको बताए। व्यवसायीको सुरक्षा र प्रोत्साहनका लागि सरकार तत्पर रहेको भनाई उनको थियो। यो सरकार निरन्तरता पाउँदै निर्वाचनसम्म जाने भएकाले स्थिरताप्रति शंका नगरी ढुक्क भएर लगानी गर्न पौडेलले आग्रह गरे।

    टानका अध्यक्ष पाण्डेले पर्यटन सलामी दस्तुर (टिम्स शुल्क) कटौती गरिएको भन्दै पुनः फुकुवा गरिदिन माग गरे। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले चालु आर्थिक वर्षमा मात्र प्रदेशअन्तर्गतका पर्यटन क्षेत्रमा ३ अर्ब ३१ करोड रुपैयाँ लगानी हुने जानकारी दिए।

    नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले पनि टानसँग समन्वय गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिइने प्रतिबद्धता जनाए। नेपाल पर्यटन बोर्ड र टानबीचको सहकार्यलाई अझ गहिरो बनाउन आवश्यक रहेको उनले बताए।
    कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले टानले लक्ष्यअनुरूप काम गरिरहे पनि सरकारले अपेक्षाकृत सहकार्य गर्न नसकेको गुनासो पोखे।

    साधारण सभाको अवसरमा पर्यटन प्रवद्र्धनमा योगदान गर्ने विभिन्न स्थानीय तहलाई सम्मान गरिएको थियो। साथै, पर्यटन पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउने चार जना पत्रकारलाई पनि सम्मान गरिएको छ। साधारण सभा बन्द सत्रबाट संघका महासचिव सोनाम ग्याल्जेन शेर्पाद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदनसँगै आर्थिक वर्ष २०८२/८३ को योजना, नीति तथा कार्यक्रम र कोषाध्यक्ष गौतम राज वाग्लेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरिएको छ । त्यस्तै, संघका सचिव रिञ्जी जाङ्बु शेर्पाले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र आर्थिक विनियमावली र कर्मचारी विनियमावली २०८२ पनि पारित भएको छ ।