
भैरहवा– भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ अगमन कक्ष सञ्चालनमा आएको छ। ५० वर्ष पुरानो गौतमबुद्ध बिमानस्थलको आन्तरिक तर्फको आगन कक्ष अत्यन्त साँघुरो भएकाले यात्रु सेवा–सुविधाको कार्गो भवनमा अलग्गै आगमन कक्ष तयार गरिएको हो।
सोमबार काठमाडौंदेखी बुद्ध एयर र यति एयर मार्फत भैरहवा अवतरण गरेका यात्रुहरुलाई नयाँ कक्षमा स्वागत गरिएको थियो।
यस अघि ब्यागेज बुझ्ने ठाउँ अत्यन्त साँघुरो भएकोले यात्रुलाई धेरै असहज भै रहेको, स्थान अभावको कारण ब्यागेज बेल्टको प्रयोग पनि गर्न सकिएको थिएन। कार्गो कुरियर पठाउन सेवाग्राहीले हाल प्रवेश पास लिई सुरक्षा जांच गरी टर्मिनलमा प्रवेश गर्न पर्ने झन्झट थियो।
नयाँ आगमन कक्ष फराकिलो रहेको, यात्रु प्रतिक्षालय, एयरलाईन्स कार्गो कुरियर सेवा, व्यागेज बेल्टको व्यवस्था रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए। नजिकै सहज पार्किङ, टर्मिनलबाट अलगै भएकाले भिडभाड कम हुने, पिउनी पानी र सौचालयको पनि व्यवस्था भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक तिवारीले बताए।
निकट भविष्यमा हालको टर्मिनल भवन प्रस्थानको लागि मात्र प्रयोग गरिने र यात्रु सेवा सुविधा थप गरी प्रस्थान कक्षको यात्रु क्षमता हालको दोब्बर हुने गरी स्तरोन्नति गरिने योजना रहेको विमानस्थलले जनाएको छ।

