
बुटवल होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीेले पर्यटन दिवसको अवसरमा टुर प्याकेज घोषणा गरेको छ। बुटवलस्थित संघको कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा टुर प्याकेज सार्वजनिक गरिएको हो। “आतिथ्यता, सुरक्षित बसाई, स्वास्थ्यकर खाना हाम्रो पहिचान; आन्तरिक पर्यटन प्रवद्र्धन, कला–संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नारासहित दुई रात तीन दिनको टुर प्याकेज सार्वजनिक गरिएको संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले बताए।
टुर प्याकेज अन्तर्गत सुनौली, लुम्बिनी, बुटवल, बुद्ध सर्किट, रात्रिकालीन कालिकापथ, हिलपार्क, सिद्धबाबा मन्दिर, केवलकार हुँदै कामाख्या मन्दिर, अर्को केवलकार हुँदै नुवाकोट, मणिमुकुन्द सेन उद्यान, जितगढी किल्ला, शंकरनगर वनबोटिका तथा व्यापारिक केन्द्र बुटवल बजार किनमेलको व्यवस्था रहेको उनले जानकारी दिए।
उक्त प्याकेज ४ जनाभन्दा बढीको समूहमा लागू हुने छ। यसको मूल्य ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। बालबालिकाका लागि २५ देखि ५० प्रतिशतसम्म छुट र १६ जनाभन्दा बढीको समूह भएमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। संघको पाँच सदस्यीय टोलीले लामो अध्ययनपछि उक्त पर्यटन प्याकेज तयार पारेको उपाध्यक्ष पाण्डेले जानकारी दिए।
यसैगरी, पर्यटन दिवसको अवसरमा रुपन्देहीका सम्पूर्ण होटलहरूमा असोज ११ गतेदेखि १७ गतेसम्म लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने निर्णय भएको संघका अध्यक्ष माधव खनालले जानकारी दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विषम परिस्थितिमा पनि होटल व्यवसायीहरूबाट भएको काम प्रशंसनीय रहेको बताए। स्थानिय सरकार सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै उनले पर्यटन क्षेत्रमा परेको ग्रहण चिर्न यस्ता पहलहरू महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बिमल भट्टराई, रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि खत्री, संघका सल्लाहकार बालाराम भट्टराई, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष अर्जुन पोखरेल, सचिव तुल्सीराम पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए।
पर्यटन दिवसकै अवसरमा कार्यक्रम अघि संघलेल बुटवलदेखी बेलहियासम्म मोटरसाइकल ¥याली आयोजना गरेका थियो। जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा सुरक्षाको विषयमा बढ्दो चिन्तालाई मध्यनजर गर्दै “नेपाल सुरक्षित गन्तव्य” भन्ने नारासहित ¥याली गरिएको हो।
संघमा आबद्ध व्यवसायीहरू ‘नेपाल इज सेफ डेस्टिनेसन’ अंकित टिसर्ट लगाएर मोटरसाइकलमा सहभागी भएका थिए। बुटवलबाट सुरु भई बेलहिया पुगेका व्यवसायीहरूले स्थलमार्गबाट आएका सात जना पर्यटकलाई खादा, माला र नेपाली ढाका टोपीसहित स्वागत गरेका थिए।
बेलहियामा आयोजित कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले पेशा र व्यवसायलाई निर्धक्क रूपमा अघि बढाउन आग्रह गरे। सुरक्षामा देखिने कुनै पनि समस्या समाधान गर्न आफू निरन्तर लागेको बताउँदै उनले सुरक्षा निकाय र प्रशासनबाट आवश्यक सहकार्य भइरहेको जानकारी दिए।

