२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४१
  • बरिष्ठ अधिकृत राइलाई कोषको कायम मुकायम सदस्य सचिवको जिम्मेवारी

    लुम्बिनी-लुम्बिनी विकास कोषको कायममुकायम सदस्य सचिवको जिम्मेवारी ज्ञानिन राइलाई तोकिएको छ। कोषका सदस्य सचिव सानुराजा शाक्यको ५ वर्षे कार्यकाल असोज २१ गते सकिएसँगै १० तहका बरिष्ठ अधिकृत राइलाई कायम मुकायम तोकिएको हो।

    कोष पदाधिकारी विनियमावली, ०५८ को विनियम २९(५) मा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य संचालन गर्ने व्यवस्था छ। सोही अनुसार राई कामु सदस्य सचिव भएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए।

    ०७६ मंसिर १५ मा कोष बोर्ड बैठकले वरिष्ठतम कर्मचारीलाई सदस्य–सचिवको अनुपस्थितिमा कामु सदस्य–सचिव बनाउने प्रावधान संशोधन गर्न पठाएकामा संस्कृति मन्त्रालयको ०७६ पुस २७ को मन्त्रीस्तरीय निर्णयले उक्त संशोधन गरेको थियो। यही संशोधनका आधारमा ०७६ माघमा राई ८ महिना कामु सदस्य सचिव भएर काम गरेका थिए। कायम मुकायम सदस्य सचिव राइले आफू जति दिन जिम्मेवारी बसिन्छ त्यतिन्जेल राम्रोसँग काम गर्ने बताए। केही नयाँ काम गर्न आफूले सुरु गरिसकेको समेत उनले जानकारी दिए।