२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • टिकट विक्रि राम्रो भइरहेको छ भैरहवा-बैंकक उडानको

    उडानको प्रचार प्रसार गर्न पर्यटन व्यवसायीलाई एयरलाइन्सको आग्रह

    भैरहवा -यही अक्टोवर २६ अर्थात कात्तिक ९ गतेबाट थाइ एयर एशियाले भैरहवा–बैंकक उडान गर्दैछ। उडानको लागि टिकट विक्रि पनि राम्रो भएको एयरलाइन्सले जनाएको छ।

    विमानले राम्रो लोड लिने संकेत देखिएको थाइ एयर एशियाका सेल्स म्यानेजनर सागर चित्रकारले जानकारी दिए। ‘भैरहवाबाट जाने यात्रुहरुको संख्या राम्रो देखिएको छ। अहिले जापानको सिजन भएर पनि विद्यार्थीहरु गइरहेका छन्। भैरहवाबाट थाइल्याण्ड हुँदै जापान जाने कोरिया जानेहरु छन्।’ उनले भने ‘थाइल्याण्डबाट आउने चाँही अलि कम छन्।’

    भैरहवाबाट थाइल्याण्ड घुम्न जानेहरु पनि अलि कम देखिएका छन् । उडान सुरु भएपछि घुम्न जाने यात्रुहरु पनि बढ्लान भन्ने आशा एयरलाइन्सले गरेको छ। उडानलाई निरन्तरता दिन रुपन्देहीका ट्राभल तथा पर्यटन व्यवसायीहरुको भूमिका पनि महत्वपूर्ण हुने सेल्स म्यानेजर चित्रकारले बताए। ‘नेपालबाट थाइल्याण्ड घुम्न जानेहरु हुन्छन् उनीहरुलाई भैरहवा आकर्षित गर्नुपर्छ। बुटवल र पश्चिमका क्षेत्र, पोखरा, चितवनकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न सजिलो छ।’ उनले भने ‘यस बारेमा राम्रो सुचना र जानकारी दिनुपर्यो, मार्केटिङ गर्नुपर्यो। एयरपोर्ट चल्यो भने रुपन्देहीको व्यवसाय राम्रो हुने हो।’

    भैरहवा बैंकक उडानको लागि थाइ एयर एशियाले नेपाल नागरिक उड्यन प्राधिकरणसँग गत असारमै अनुमति लिएर टिकट बुकिङ खुल्ला गरेको थियो। थाइ एयर एशियाको उडान विन्टर सिजन भरि हुने छ। भैरहवामा यात्रु राम्रो भएमा चैतपछि पनि उडान निरन्तर हुन सक्ने चित्रकारले बताए।

    तालिका अनुसार प्रत्येक आइतबार र बुधबार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ।

    थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो। तर चैत्रबाट उडान रोकिएको थियो। कात्तिकबाट फेरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न लागेको हो।