२०८२ फाल्गुन २३ गते, शनिबार १४:३०
  • थाइ एयर एशियाले भैरहवामा थाल्यो पुनः उडान, १६२ जना बैंकक प्रस्थान


     
    भैरहवा – थाइ एयर एशियाले भैरहवामा पुनः उडान थालेको छ। बैैैैककबाट आएको एयर ३२० जहाज आइतबार दिउसो १२ः४८ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

    जहाजमा आएका १७ जना भैरहवा झरेका थिए। भैरहवाबाट १६२ जना बैैकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोद रावतले जानकारी दिए। थाइ एयर एशियाले अब प्रत्येक साता आइतबार र बुधबार भैरहवामा उडान र अवतरण गर्ने छ।

    भैरहवामा उडानको लागि एयर एशियाले गत असारमै नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएर टिकट बुकिङ खुल्ला गरेको थियो। भैरहवाबाट बैैकक प्रस्थानको लागि टिकट विक्रि पनि राम्रो भइरहेको एयरलाइन्सले जनाएको छ।

    थाइ एयर एशियाले झण्डै साढे ७ महिनापछि भैरहवाबाट पुन उडान सुरु गरेको हो। गत वर्ष पनि उसले विन्टर सिजनमा उडान गरेको थियो । २०८१ कात्तिक पहिलो पटक उडान गरेको थाइ एयर एशियाले अप्रिल लागेपछि अर्थात समर सेड्युलमा उडान गरेको थिएन।

    अब उडान निरन्तरताको लागि सरकारी पक्ष, एयरलाइन्स र निजी क्षेत्र गरि तीनै पक्षको भूमिका महत्वपूर्ण हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। ‘यात्रुहरुको विश्वसनियताको लागि यहाँबाट उडान निरन्तर हुनुपर्छ। एयरलाइन्सले आफ्नो मार्केटिङ गर्नुपर्यो। पर्यटन बोर्ड लगायत सरकारको निकायले पनि बुद्ध जन्मस्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्छ।’ उनले भने ‘सरकारको तर्फबाट गर्नुपर्ने हिजोका दिनमा भएको निर्णय कार्यान्वयन गर्नुपर्छ। विभिन्न प्याकेज बनाएर विक्रि गर्ने, छुट सुविधाहरु उपलब्ध गराउने, प्रवद्र्धन गर्ने लगायतका काम गर्न सक्छन्।’ तिवारीले तिनवटै पक्षको सहकार्य भएमा भैरहवाबाट हुने उडानले निरन्तरता पाउने बताए।

    थाइ एयर एशिया मार्फत कोरिया जापान जाने यात्रुहरु पनि हुने भएकाले श्रमिक गन्तव्यको लागि आवश्यक पर्ने सुविधा रुपन्देहीमा उपलब्ध हुनुपर्ने महाप्रबन्धक तिवारीको भनाइ छ।