
सुदीप भण्डारी
एक वर्ष अघि ५ वटा विमानले अन्तर्राष्ट्रिय उडान थाल्दा भैरहवामा उत्साह छाएको थियो। ५ मध्ये कतार एयरवेज र नेपाल एयरलाइन्सको उडानको खासै प्रभाव परेन। जजिरा एयरवेज, फ्लाई दुबई, र थाइ एयर एशियाले कात्तिकदेखी चैत्रसम्म उडान गरेका थिए यात्रु पनि राम्रै थिए। तर चैत्र पछि यी तीनवटै विमानले उडानलाई निरन्तरता दिएनन्। भैरहवामा उत्साहपछि निराशा छायो।
६ महिनापछि भैरहवाबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। प्रत्येक आइतबार र बुधबार गरि सातामा २ पटक थाइ एयर एशियाले बैंकक-भैरहवा-बैंकक उडान गरेको छ। अहिले भइरहेको उडान निरन्तर होला या फेरि रोकिएला ? यो प्रश्न सबैको मनमा छ। तर अहिले सुरु भएको उडान अब रोकिनु हुँदैन। यो उडानलाई निरन्तरता दिन सरकारी पक्ष, पर्यटन व्यवसायी र सरोकारवालाले निम्न कुराहरुमा ध्यान दिन आवश्यक छ।
१) थाइल्याण्ड बुद्ध धर्मलम्बीको बाहुल्य भएको देश हो। भैरहवामा सुरु भएको अन्तर्राष्ट्रिय उडानले त्यहाँका बुद्धिष्ट पर्यटकलाई लुम्बिनी आउन सहज छ। यही सन्देश हामीले थाइल्याण्डमा प्रवाह गर्न जरुरी छ।
२) बुद्ध जन्मस्थल लुम्बिनीको नजिकमा अन्तर्राष्ट्रिय विमानस्थल छ र थाइल्याडबाट सिधा उडानमा पुग्न सकिन्छ भन्ने सन्देश प्रवाहको लागि एउटा कार्यक्रम बन्नुपर्छ। यहाँको सरकारी पक्ष, लुम्बिनी विकास कोष, पर्यटन व्यवसायी र सरोकारवालाहरुले थाइल्याण्डमा प्रचारप्रसार गर्ने गरि योजना तथा कार्यक्रम तयार पार्नुपर्छ।
३) कार्यक्रम अन्तर्गत लुम्बिनी र अन्तर्राष्ट्रिय उडानको प्रचारको लागि थाइल्याण्ड जानुपर्छ। सुरुमा पर्यटनमन्त्रीको नेतृत्वमा थाइल्याण्ड गएर कार्यक्रम गर्दा राम्रो हुन्छ। त्यहाँका पर्यटनमन्त्री, पर्यटनसँग सम्बन्धीत अधिकारी, बुद्धिष्ट अनुयायी, पर्यटन व्यवसायीहरुसँग छलफल गरि भैरहवाको उडान र लुम्बिनी बारे जानकारी दिनुपर्छ।
४) यहाँका व्यवसायीक संघ -संस्थाको टोली पालैपालो थाइल्याण्ड भ्रमण गरेर लुम्बिनी र अन्तर्राष्ट्रिय उडानको प्रचार प्रसार गर्नुपर्छ। उदाहरणको लागि एक पटक सिद्धार्थ होटल संघको १५–२० जनाको टोली थाइल्याण्ड जाने। त्यसपछि लुम्बिनी होटल संघ, नाट्टा, सोट्टो, विभिन्न उद्योग बाणिज्य संघहरु, चेम्बरहरुको टोली एकपछि अर्को उडानमा थाइल्याण्ड जाने हो भने जहाजले लोड पनि राम्रो पाउँछ, लुम्बिनीको प्रचार-प्रसार पनि हुन्छ । यसरी भ्रमणमा जाँदा थाइल्याण्ड र लुम्बिनीबीचको सम्बन्ध पनि बढ्छ।
५) अहिले भैरहवा-बैंककको उडानमा रोजगारीको लागि कोरिया जानेहरुको चाप छ। कोरिया जाँदै गरेका युवाहरुको लागि पनि एउटा कार्यक्रम गर्न आवश्यक छ। जानुअघि उनीहरुलाई एउटा कार्यक्रममा सहभागी गराइ लुम्बिनीसहितका पर्यटकीय स्थलको जानकारी दिने, ब्रोसर प्रदान गर्ने। कोरियामा पुगेर भैरहवाको अन्तर्राष्ट्रिय उडान र लुम्बिनीको प्रचार प्रसार गर्न आग्रह गर्ने।
६) कोरियाबाट नेपाल फर्किन लागेकाहरुलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न प्रेरित गरौं। कोरियामा रहेका प्रदेशबासीहरुलाई लुम्बिनी र भैरहवाको अन्तर्राष्ट्रिय उडानलाई प्रवद्र्धन गर्ने गरि सामाजिक सञ्जाल तथा अनलाईन ग्रुप बनाउन प्रोत्साहन गरौं।
७) थाइ एयर एशियाको जहाजबाट भैरहवा हुँदै आउने यात्रुहरुको लागि विभिन्न सुविधा तथा प्रोत्साहनको कुराहरु राखौं। होटलमा छुट दिउँ, भैरहवा अवतरण गरेकालाई एक छाक खानाको सुविधा, बुटवलसम्म पुग्नको लागि सटल बसको सुविधा लगायतका प्रोत्साहनको कुरा राख्न सकिन्छ।
८) चितवनदेखी पश्चिमका लागि गौतम बुद्ध विमानस्थल पायक पर्ने ठाउँ हो। अन्तर्राष्ट्रिय उडानको प्रचार प्रसारको लागि दाङ, नेपालगञ्ज, धनगढी लगायतका ठाउँमा कार्यक्रम गरौं। विदेश जाँदा र आउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गरौं। बुटवल नारायणगढ सडक सहज भएपनि चितवनबाट काठमाडौं जान भन्दा भैरहवा आउन सहज हुन्छ । त्यसैले चितवनमा पनि कार्यक्रम गरि सन्देश प्रवाह गरौं।
९) अहिले प्रत्येक साता आइतबार र बुधबार बैंकक-भैरहवा-बैंकक उडान हुने गर्दछ । यो उडानलाई ध्यान दिएर एउटा राम्रो टुर प्याकज बनाउन सकिन्छ। आइतबार आएर बुधबार फर्किने गरि ३ रात ४ दिनको प्याकेज बन्न सक्छ। त्यस्तै बुधबार आएर आइतबार फर्किने गरि ४ रात ५ दिनको भ्रमण कार्यक्रम सक्छ । यी प्याकेजमा लुम्बिनीसँगै पोखरा र चिवतनलाई पनि समेटेने । प्याकेज बनाउनको लागि ति शहरका पर्यटन व्यवसायीहरुसँग पनि सहकार्य गर्ने। यो प्याकेजलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने र विदेशी पर्यटकलाई बैंकक-भैरहवा उडानबाट लुम्बिनी आउन आग्रह गर्ने।
१०) बुद्ध जन्मस्थल लुम्बिनी र भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको प्रवद्र्धनको लागि एउटा साझा संयन्त्र बनाउनुपर्छ । यो संयन्त्रमा होटल व्यवसायी, ट्राभल तथा टुर व्यवसायी, अरु पर्यटनसँग सम्बन्धीत व्यवसायी र सरोकारवालाहरुलाई समेटौं। संयन्त्रले लुम्बिनीको पर्यटन र अन्तर्राष्ट्रिय उडानका सम्बन्धमा साझा धारणा तयार गर्नेछ । नियमित बैठक बसेर अन्तर्राष्ट्रिय उडान र पर्यटनको बारेमा समिक्षा गर्ने र योजना बनाउने गर्दछ। भइरहेको अन्तर्राष्ट्रिय उडानको निरन्तरताको लागि सरकार र एयरलाइन्ससँग सहकार्य गरि सहजिकरण गर्नेछ। साथै भैरहवामा थप अन्तर्राष्ट्रिय उडानको लागि पहल समेत गर्नेछ।
यी कुराहरुमा ध्यान दिएमा भैरहवाबाट अहिले भइरहेको उडानले निरन्तरता पनि पाउने छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अरु उडान थपिने सम्भावना पनि हुन्छ।

