
बुटवल – पर्यटन प्रवर्द्धनको यात्रामा रहेको जाउँ है बेगनासको टोली बुटवलमा आएको छ। पोखरा पर्यटन प्रवर्द्धनको कार्यक्रम अन्तर्गत होटल तथा रेष्टुरेन्ट एशोसिएनको टोली भ्रमणमा निस्केको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा पोखरा भ्रमण वर्ष २०२५ अन्तर्गत जाउँ है बेगनास कार्यक्रम सञ्चालन भएको हो।
टोलीलाई बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले स्वागत गरेको थियो। बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायी, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुबीच बुटवल र लेखनाथको पर्यटन प्रवद्र्धन र सहकार्य बारे छलफल भएको थियो।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट एशोसिएसन बेगनासका अध्यक्ष विरभद्र कंडेलले साविक लेखनाथ नगरपालिकाको क्षेत्र पर्यटकीय आकर्षण भएको ठाउँ भएको भ्रमण गर्न आग्रह गरे। ‘लेखनाथ ७ तालको शहर भनेर चिनिएको थियो। त्यही पहिचानको आधारमा हाम्रो ठाउँ घुम्न लायक र आकर्षक छ।’ उनले भने ‘यी तालबाट मनोरम हिंमश्रींखलाहरु देखिन्छ। नेपालमै नभएको तालमाथिको झोलुंग पुल छ। चरा अवलोकनका साथै रोयल ट्रयाक पनि त्यही ठाउँमा रहेकाले बेगनास ताल घुम्न पनि म आग्रह गर्दछु।’
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले रुपन्देहीबाट पोखरा जाने पर्यटकलाई बेगनास घुम्न पनि आग्रह गर्ने बताए। ‘रुपन्देही हुँदै धेरै पर्यटक हुँदै धेरै पर्यटक पोखरा गएका छन् । ति पर्यटकलाई अब हामी बेगनास घुम्न पनि आग्रह गछौं।’ उनले भने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आएमा रुपन्देही र पोखरा पर्यटकीय चहलपहल ह्वात्तै बढ्छ।’ खनालले बुटवलमा जितगढी, मणिमुकुन्द सेन उद्यान लगायत थुप्रै ऐतिहासक ठाउँ रहेको लुम्बिनी पनि भएकाले रुपन्देही पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्य समेटिएको भिडियो प्रस्तुत गरिएको थियो। सो अवसरमा बुटवलका उद्योगी व्यवसायी र सरोकारवालाहरुले पछिल्लो आन्दोलनबाट सिथिल भएको पर्यटन क्षेत्रलाई माथि उठाउन सबै आ आफ्नो क्षेत्रबाट अघि बढ्नुपर्ने बताएका थिए। बुटवल पछि जाउँ है बेगनास को टोलीले बर्दिया र सुर्खेतमा पनि कार्यक्रम गर्ने छ।
प्राकृतिक विविधता र शान्त वातावरण खोज्नेहरुको लागि बेगनास ताल उपयुक्त गन्तव्य भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए। ‘पोखरा नेपालको सबैभन्दो ठूलो महानगरपालिका हो। फेवाताल मात्र नभई यहाँको बेगनास ताल पनि उत्तीकै सुन्दर र मनमोहक छ। यहाँ प्राकृतिक विभिदता छ।’ उनले बुद्धपरिपथसँग भने ‘चराचुरुङगी लगायत जंगली जनावरको पनि अवलोकन गर्न पाइने वातावरणीय हिसाबले पनि स्वच्छ र शान्त, भिडभाडबाट पर भरपुर प्राकृतिक आनन्द दिन सकिने ठाउँ छ।’ पोखरामा अलग खालको ठाउँ भएकाले बेगनास ताल क्षेत्रको प्रचार प्रसार तथा प्रवद्र्धनको लागि पर्यटन बोर्डले सहकार्य गरेको लामीछानेको भनाई छ।

